Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.67/5.00)
Text size:-
+
-

हो, अन्तराल छुट्टै छ

फिल्मीखबर, काठमाण्डौ, 2013/05/15

सधैं रमाउने हाँस्ने हँसाउने
पीडा जति छोपि सधैं रमाउने
अरू सोच्लान् हाम्लाई सायद यस्तो छौं त्यस्तो छौं
कसैले जे सोचोस् हो हामी यस्तै हौं
हो हामी छुट्टै छौं
साँच्चै नै बेग्लै छौं

मानव सुवेदीको शब्द, स्वर तथा संगीत रहेको प्रस्तुत 'अन्तराल' फिल्मको प्रस्तुत गीतले भने जस्तै बनिरहेका फिल्म भन्दा अन्तराल साँच्चिकै छुट्टै रहेको प्रतिक्रिया बुधबार आयोजित प्रिमियरमा उपस्थित फिल्मकर्मी र सञ्चारकर्मीले दिए ।

 

डिजिटल सिनेमा नेपालमा प्रबन्ध निर्देशक तथा बरिष्ठ फिल्मकर्मी अशोक शर्माले निर्देशक दीपा बस्नेतको खुलेर प्रशंशा गर्दै फिल्म अत्याधिक राम्रो बनेको प्रतिक्रिया दिए । 'फिल्म साँच्चिकै बेग्लै किसिमको राम्रो छ,' अशोकले भने- 'माउथ पब्लिसिटीले यो फिल्मले राम्रो व्यवसाय गर्छ भन्ने विश्वास लिएको छु ।' लामो समयदेखि पत्रकारिता गर्दै आएका बरिष्ठ पत्रकार अश्विनी कोईरालाले पनि फिल्म निकै राम्रो बनेको प्रतिक्रिया दिए । 'फिल्म हेरेर मज्जा आयो,' उनले भने ।

 

ग्ल्यामर फोटोग्राफीमा छुट्टै पहिचान बनाएका राजभाई सुवालले पनि धेरै समयको अन्तराल पश्चात राम्रो फिल्म हेर्न पाएको प्रतिक्रिया दिए । उनले निर्देशक देखि कलाकार सबैको काम तारिफ योग्य रहेको बताए । निर्माता प्रदीप उदयले पनि अन्तराल फिल्म गजबको बनेको प्रतिक्रिया दिएका छन् । निर्देशक एमएस अग्रजले पनि फिल्म नसोचेको राम्रो बनेको प्रतिक्रिया दिए । 'सिम्पल प्रस्तुतीमा फिल्म खँदिलो छ,; अग्रजले भने ।

 

थुप्रै सपना बोकेर फरक समुदायबाट फरक उद्देश्य बोकी शहर पसेका युवाहरूको संघर्षको कथालाई आधार मानेर निर्माण गरिएको फिल्म अन्तरालमा कमलमणी नेपाल, राजकुमार पुडासैनी, नम्रता सापकोटा, मानव सुवेदी, अशिष्मा नकर्मी, घनुभाइ जोशी, लोकेन्द्र लेखक, उज्जवल शर्मा भण्डारी, अमितेश शाह र जेशिका बोगटीको साथमा पूर्व मिस नेपाल रूवी राणाको मुख्य भुमिका रहेको छ ।

 

जीवनसाथी फिल्मसको व्यानरमा बि.बि. बस्नेत र डा. लक्ष्मीकान्त पाण्डेको निर्माण रहेको अन्तरालमा शशि विक्रम थापाको संगीत, शिवराम श्रेष्ठको छायांकन, अभिमन्यू निरवीको लेखन, असिम चित्रकार र वुद्धरत्न महर्जनको सम्पादन एवं ग्राफिक्स रहेको छ । यो फिल्म यहि शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउँदैछ ।