यहि जेठ ३ गते रिलिज हुन लागेको फिल्म 'अन्तराल' युनिटले पब्लिसिटीलाई निकै व्यापकता दिएको छ । गत साता मात्रै देश दौडाह सकेर राजधानी फर्केको फिल्म निर्माण युनिटले आज आईतवारबाट काठमाण्डौमा कलेज क्याम्पियन शुरू गरेको छ ।
आईतवार बिहान फिल्मका कलाकार र निर्देशकले राजधानीको बिजुलीबजारमा रहेको मेघा कलेजमा पुगि आफ्नो फिल्मको बारेमा जानकारी दिंदै उपस्थित बिधार्थीहरूलाई एकपटक फिल्म हेरिदिन आग्रह पनि गरे । 'यो फिल्म तपाईंहरूकै लागि बनाएका हौं,' कलाकार लोकेन्द्र लेखकले भने- 'यदि तपाईंहरूले फिल्म हेरेर कमेन्ट गर्दिनुभयो भने त्यो नै हाम्रो सफलता हुनेछ ।'

यस्तै निर्देशक दीपा बस्नेतले पनि फिल्मको कथाबस्तु कलेज पढिरहेका बिधार्थीहरू माथि बढि केन्द्रित रहेकाले यसरी कलेज क्याम्पियन गरेको बताईन् । युवाहरूको संघर्षको कथा बोकेको अन्तरालकी नायिकाद्धय नम्रता सापकोटा र अशिष्मा नकर्मीले आफूहरूको पहिलो फिल्म भएकाले हेरेर प्रतिक्रिया दिन आग्रह गरे । यता अर्का कलाकार घनुभाई जोशी र मानव सुवेदीको पनि एउटै स्वर थियो- 'तपाईंहरूकै कथा हो अन्तराल ।'

कार्यक्रममा कलाकार मानव सुवेदीले फिल्मको एउटा गीत गाएर सुनाएका थिए भने प्रोमो र गीत उपस्थित दर्शकहरूलाई देखाईएको थियो । बिधार्थीहरूले गीत र प्रोमो हेरेपश्चात फिल्म हेर्न इच्छुक रहेको प्रतिक्रिया दिएका थिए । कार्यक्रममा फिल्मको निर्माण टिमले क्विज खेलाउँदै उपहार स्वरूप अडियो सिडी र अन्तराल लेखेको टिसर्ट प्रदान गरेका थिए भने कलेजले आफ्नो तर्फबाट फिल्मका कलाकारहरूलाई केक काटेर स्वागत गरेको थियो ।
बुधबार जय नेपाल हलमा प्रिमियरको आयोजना गरेको अन्तराल टिमले सोमबार र मंगलबार राजधानीका एक दर्जन भन्दा बढि कलेज र स्कुलमा पुगेर फिल्मको प्रचारप्रसार गर्ने भएको छ ।

