Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`हल वर्गिकरण कुनैपनि हालतमा लागु हुन्छ` : पप्पु

फिल्मीखबर, काठमाण्डौ, 2013/05/12

गत फाल्गुन महिनाबाट फिल्मको वर्गिकरण लागु गरेको चलचित्र विकास बोर्डले हल बर्गिकरण पनि लागु गर्ने बताएको छ । आईतवार बोर्डको सभा हलमा बोल्दै बोर्ड अध्यक्ष धर्मेन्द्र मरवैता 'पप्पु'ले बिबादमा रहेको हल बर्गिकरणलाई आफूले जुनसुकै हालतमा पनि गरिछाड्ने बताएका हुन् ।

 


नेपाल चलचित्र संघले हल बर्गिकरणको बिषयमा आपत्ति जनाईरहेको बताउंदै पप्पुले फिल्मको वर्गिकरण लागि भईसकेकाले हलको वर्गिकरण पनि गर्न अत्यन्त जरुरी रहेको भन्दै यस्तो तर्क गरेका हुन् । चलचित्र निर्माता संघ र निर्देशक समाजको नयाँ कार्य समिति सदस्यहरुलाई बधाई दिन आयोजना गरिएको कार्यक्रममा उपस्थित फिल्मकर्मीहरूमाझ पप्पुले भने- 'फिल्म र हलको वर्गिकरण हुँदा नेपाली फिल्मको गुणस्तरमा बृद्धि हुन्छ ।'

 

यस्तै कार्यक्रममा पप्पुले नयाँ कार्यसमिति सदस्यहरुलाई उनीहरूको कार्यकालको सफलताका लागि शुभकामना सहित सम्मान गर्दै आगामी जेठ १८, १९ र २० गते हुन लागेको 'राष्ट्रिय चलचित्र महोत्सव २०७०'को कार्यक्रमको स्वरूप प्रस्तुत गरेका थिए । बोर्डले तयार पारेको कार्यक्रमको स्वरूपमा कलाकारलाई  मात्र फोकस गरेको हुनाले प्राबिधिक पक्षले त्यसको बिरोध गरेको थियो । प्राबिधिक तथा निर्देशकहरूबाट चर्को बिरोध आएपछी बोर्डले तयार पारेको कार्यक्रम प्रारूपमा हेरफेर हुने भएको छ ।

 

 

कार्यक्रममा बोर्डको आयोजनामा हुन लागेको 'राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान २०६९'मा समावेश गरिएका बिधाहरूमा पनि उपस्थित फिल्मकर्मीले बिरोध जनाएका छन् । बोर्डले उत्कृष्ट फिल्म, अभिनेता, अभिनेत्री, लेखन, छायाँकन र सम्पादन बिधामा अवार्ड दिन लागेको छ । प्रस्तुत बिधामा बिशेषगरी प्राबिधिकहरूले आफूहरूलाई अपहेलना गरेको भन्दै उक्त प्रदान गर्न लागिएको अवार्डको बिरोध गरे । प्राबिधिक संघका अध्यक्ष मनोज केसीले प्राबिधिक बिना फिल्म नबन्ने भएकाले राष्ट्रले दिने अवार्डमा प्राबिधिकहरूलाई छुट्ट्याउन नमिल्ने तर्क अघि सारेका थिए ।

 

यो राष्ट्रिय अवार्ड राष्ट्रपतिको हातबाट वितरण गर्ने भनिए पनि अहिलेसम्म राष्ट्रपतिले कुनै चासो नदेखाएकाले अवार्ड कहिले वितरण हुन्न भन्न सक्ने अवस्था छैन । 'हामीले राष्ट्रपतिलाई पत्र पठाएका छौं । अहिलेसम्म उताबाट कुनै रेस्पोन्स आएको छैन । आउने बित्तिकै हामीले राष्ट्रपतिको हातबाट अवार्ड वितरण गर्नेछौं,' पप्पुले भने । अवार्डका लागि फिल्म दर्ता भईरहेको छ भने जुरीहरूको नाम सार्वजनिक गरिएको छैन ।