ब्लकबस्टर फिल्म 'फस्ट लभ'बाट डेब्यू गरेकी नायिका ऋचा शर्मा भर्सटाईल कलाकारको रूपमा चिनिन थालेकी छिन् । मेरो लभ स्टोरी फिल्ममा लभर गर्ल बनेकी ऋचाले हाईवेमा 'वेस्या'को भुमिका निर्वाह गरेर आफ्नो कला देखाईन् । त्यस्तै भिसा गर्ल र लुटमा पनि उनले अभिनयमा राम्रै छाप छोडिन् भला फिल्मले सफलता हात पार्न सकेन उनले भने राम्रै तारिफ पाईन् ।
अहिले यिनै भर्सटाईल नायिकाले अभिनय गरेको फिल्म 'उमा' रिलिजको तयारीमा छ । जेठ १० गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको यो फिल्ममा ऋचाले कमरेडको भुमिका निर्वाह गरेकी छिन् जहाँ उनलाई भिन्न गेटअप र चरित्रमा देख्न सकिन्छ । 'ऋचा साँच्चिकै भर्सटाईल एक्टर हुन्,' निर्देशक छिरिङ रितार शेर्पा भन्छन्- 'म उनको कामबाट पूर्ण सन्तुष्ट छु ।'
यता ऋचाले पनि उमामा आफूले निर्वाह गरेको भुमिका अहिलेसम्म कै उत्कृष्ट रहेको बताउँदै आएकी छिन् । 'उमाको क्यारेक्टर मेरो लागि ड्रिम रोल नै थियो जुन छिरिङ दाईले मलाई दिनुभयो,' ऋचा भन्छिन्- 'फिल्मको प्रतिक्रिया लिन म निकै आतुर छु ।' माओवादी द्धन्दकालमा एक परिवारले भोग्नु परेको पिडामा आधारित रहेर वैचारिक मतभेदका आधारमा विछोडिन पुगेका दुई दाजुबहिनीको सम्बन्ध वरिपरि घुमाएर निर्माण गरिएको फिल्म 'उमा'मा ऋचाले माओवादी कमरेडको भुमिका निर्वाह गरेकी छिन् ।
मिला प्रोडक्सनको ब्यानरमा छिरिङ रितार शेर्पाले निर्देशन गरेको यो फिल्ममा ऋचाको साथमा सौगात मल्ल, दयाहाङ राई, प्रविण खतिवडा, मिथिला शर्मा, प्रमोद अग्रहरी, पुष्कर गुरुङ, प्रकाश घिमिरे, सुरेश चन्द लगायतले अभिनय गरेका छन् ।








