यसअघि पनि छाडा शब्द प्रयोग गरिएका गीतमा खासै रूची नदेखाएकी गायिका आस्था राउतले छाडा र अश्लिल शब्द भएका गीत नगाउने बताएकी छिन् । फिल्मीखबरसँगको कुराकानीमा आस्थाले भनिन्- 'छाडा शब्दका गीत गाएर नाम कमाउनु छैन ।'
मायाज बार फिल्मको 'माया यो माया' बोलको गीत गाएपश्चात मिडियामा निकै चर्चामा आएकी आस्थाले त्यसपश्चात थुप्रै फिल्मका गीतमा स्वर दिईन् तर छाडा शब्दमा हैन । 'आमा आफै गीतकार भएकाले उहाँले नै डिसिजन दिनुहुन्छ कस्तो गीत गाउने भनेर,' आस्थाले भनिन्- 'त्यसैले मैले आफ्नो लागि पनि गाउँदिन र परिवारको लागि पनि गाउँदिन ।'
डब्बु क्षेत्रीले निर्देशन गर्न लागेको फिल्म 'राहदानी'को एक आईटम गीतमा अफर आएको तर आमाले शब्द सुनेर रिजेक्ट गरेपछि नगाएको बताउँदै आस्थाले भनिन् - 'आमा आफै गीतकार भएकाले कस्तो गीत गाउने र कस्तो गीत नगाउने भन्ने निर्णय दिनुहुन्छ ।' उनले आफ्नो मनोमानीले गीत गाएमा परिवारले घरमा बस्न नदिने समेत उनले बताईन् ।
आस्थाले पैसाको लागि मात्र काम नगर्ने बताउँदै समाज र परिवारले सजिलै पचाउन सक्ने खालका आईटम गीत आए मात्र गाउने बताईन् । हाल आफ्नै एल्बमको काममा व्यस्त रहेकी आस्थाले भनिन्- 'म आफ्नै ब्रान्ड बनाउन चाहन्छु ।'
आस्थासँगै अर्की चर्चित गायिका इन्दिरा जोशीले पनि राहदानी फिल्मको आईटम गीत नगाउने बताएपछि संगीतकार चेतन सापकोटाले अर्की गायिका दुर्गा खरेललाई अफर गरे । दुर्गाले भने कुनै आपत्ति नजनाई गीत गाउन स्विकार गरिन् । आफ्नो पेशा गायन भएकाले कला देखाउन शब्द नहेर्ने दुर्गाको भनाई छ । निर्देशक बन्न लागेका सञ्चारकर्मी डब्बु क्षेत्रीले नै रचना गरेको आईटम गीतको शब्द यस्तो छ जसलाई चर्चित दुई गायिकाले गाउन अस्विकार गरेका छन् ।
गुन्यू चोली छोडें मैले मिनिस्कर्ट लाएँ
लोक दोहोरी गाउँदिन म डिस्को तिर धाएँ,
दही मोही छोडें मैले खान थाले डिनर
बाउआमाकी कान्छी छोरी भए सबकी डियर,
लोकदोहोरी छाडेर ईङ्लीस गीत गाएँ
कानको मुन्द्रा खोलेर यी नाइटो तिर लाएँ

