सपना सबैका हुन्छन् तर सबैको सपना पुरा हुँदैनन् । नेपाली फिल्म नेपथ्य पनि यस्तै सपना देख्ने चरित्रहरुको कथा हो । सपना पूरा गर्नका लागी मान्छेले कस्ता-कस्ता आरोह अवरोहहरु भोग्नुपर्छ भन्ने विषयलाई नै मुख्य कथाबस्तु बनाएको फिल्म नेपथ्यले शुक्रबार फस्ट लुक पोस्टर सहित प्रोमो रिलिज गरेको छ ।
विशेष गरि अहिलेका युवापुस्ताको सपनालाई फिल्ममा उतारिएको यसको निर्माण टोलीले जनाएको छ । फिल्मलाई रामराजा दाहालले निर्देशन गरेका हुन् । शुक्रबार अनामनगरस्थित मण्डला थिएटरमा विशेष समारोहको आयोजना गरेर सार्वजनिक गरेको फस्टलुक र प्रोमो फिल्मको बारेमा बोल्दै यस फिल्मका निर्देशक रामराजा दाहालले भने- 'हामीले यो फिल्मलाई राम्रो बनाउने प्रयास गरेका छौँ, आशा छ हाम्रो प्रयासलाई दर्शकहरुले साथ दिनुहुनेछ ।'
त्यस्तै फिल्मलाई आफ्नो करिअरकै उत्कृष्ट फिल्मको कोटीमा राखेका कलाकार विल्शनविक्रम राईले पत्रकार सम्मेलनको क्रममा युकेबाटै पत्रकारहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । फिल्मको फस्ट लुक र प्रोमोलाई नेपाल र अष्ट्रेलियाबाट एकसाथ रिलिज गरिएको थियो । हाल अष्ट्रेलियामा रहेकी नायिका सोना तिमिल्सिनाले अष्ट्रेलियामा एक भव्य कार्यक्रमका बिच प्रोमो र पोस्टर रिलिज गरेकी थिईन् ।

मण्डला थियटरमा भएको पत्रकार सम्मेलनमा कलाकारहरु आदित्य बुढाथोकी, रेम बिक, मानव सुवेदी, रवी गिरी, रश्मी भट्टसंगै फिल्मका लेखक सुभाससिंह बस्नेत, सिनेम्याटोग्राफर सुशन प्रजापति लगाएतको पनि उपस्थिती रहेको थियो । ड्रिम वर्क फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई निर्देशक दाहालले आफ्नो करिअरसंग जोडिएको फिल्म बताएका छन् । त्यसैले फिल्मलाई उत्कृष्ट बनाउनका लागी आफुले कुनै कसर बाँकि नराखेको निर्देशक बताउँछन् ।

फिल्ममा शुष्मा कार्की आईटम गर्लको रुपमा देखिएका छन् । फिल्ममा सुनिल थापा, प्रियंका कार्की र सुवास कोईरालाले समेत बिशेष भुमिका निर्वाह गरेका छन् । फिल्ममा बाबु बलामीको द्वन्द, गम्भिर विष्टको कोरियोग्राफि र रोशन लामिछानेको सम्पादन रहेको छ । जेठ २४ गते रिलिज हुने नेपथ्यको संगीत भने मानव सुवेदीले दिएका हुन् ।

