सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय चलचित्र नीति बनाउनका लागि एक समिति गठन गरेको छ । हालसम्म नेपालको आफ्नै राष्ट्रिय चलचित्र नीति नभएको भनेर सम्बन्धित सरोकार वालाहरुबाट पटक–पटक ध्यानाकर्षण गराइएको सन्दर्भमा सूचना तथा सञ्चार मन्त्री माधव पौडेलको निर्देशन बमोजिम मन्त्रालयले राष्ट्रिय चलचित्र नीतिको मस्यौदा निर्माण, त्यस नीतिको कार्यन्वयनमा अपनाउनु पर्ने प्रक्रिया एवं मापदण्ड तयार पार्न बरिष्ठ फिल्मकर्मी यादव खरेलको संयोजकत्वमा एक समिति गठन गरेको हो ।
फिल्म क्षेत्रमा देखिएका समस्याको पहिचान र निराकरण गर्दै आफ्नै नीति बनाउने र त्यसका लागि फिल्मका बिबिध बिधाहरु समेटी समिति गठन गरिएको छ । समितिमा फिल्म डेभलपमेन्ट बोर्डका चयेरम्यान, प्रोड्यूसर एसोसिएसन, डाईरेक्र्टस गिल्ड, मोसन पिक्चर्स एसोसिएसन, फिल्म जर्नलिष्ट एसोसिएसन र आर्टिष्ट एसोसिएनका एक–एक जना प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ ।
समितिको सदस्य सचिवका रुपमा मन्त्रालयको श्रव्यदृष्य तथा प्रसारण शाखाका प्रमुख रहने व्यवस्था गरिएको छ । यो समितिले आवश्यक अनुसार फिल्म जर्नलिष्ट, आर्टिष्ट र फिल्म क्षेत्रका विशिष्ठ व्यक्ति तथा संघसंस्थाहरुलाई राय सल्लाह र सुझावका लागि आमन्त्रण गर्न सक्नेछ । समितिले दुई महिना भित्र राष्ट्रिय चलचित्र नीतिको मस्यौदा कार्यन्वयनमा अपनाउनु पर्ने प्रक्रिया र मापदण्ड तर्जुमा गरि सिफारिस पेश गर्नेछ ।

