भोली शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'साँघुरो'को बिहिबार साँझ राजधानीको कुमारी हलमा प्रिमियर गरियो । फिल्म हेरेपश्चात उपस्थित फिल्मकर्मी तथा सञ्चारकर्मीले निर्माण युनिटलाई राम्रो फिल्म बनाएकोमा धन्यवाद दिए ।
समस्या र अभावबीच जीवन चलाइरहेको परिवारमा नियमित क्रमिकता भन्दा बाहिरको एउटा घटनाले परिस्थितिहरु हरेक पात्रको विपरित बनाइदिन्छ । अनि तिनै विपरितका परिस्थिति र अभावमा जुधिरहदा पात्रहरु मानसिक र शारीरिक रुपमा कमजोर, विभाजित र विक्षिप्त बन्दै जान्छन् । यहि कथासार रहेको यो फिल्मलाई समिर मैनाली प्रोडक्सनको व्यानरमा जोएस पाण्डेले निर्देशन गरेका हुन् । फिल्मले उठाएको कथाबस्तु आम नेपालीको दैनिक जीवनसँग धेरै नजिक रहेको प्रिमियरमा उपस्थित फिल्मकर्मीले बताए ।
काठमाडौंको फराकिलो सडकको दृष्यबाट शुरु भई एउटा सानो कोठामा भौतिक र मानसिक द्वन्द्वले निम्त्याएका परिणाममा पुगेर सकिने यो फिल्ममा शुशांक मैनाली, दीया मास्के, दयाहाङ राई, अरूणा कार्कीको मुख्य भुमिका रहेको छ । फिल्मको कथा बिनोद पौडेलले लेखेका हुन् भने छायाँकन सुसन प्रजापतीले गरेका हुन् । फिल्ममा मदन गोपालको संगीत रहेको छ भने गीत अविरल थापाको रहेको छ । फिल्मका निर्माता समिर मैनाली हुन् ।
साँघुरोसँगै भोली शुक्रबार पहिलो माया हो मेरो, ब्ल्याक नाईट र रिङ रोड पनि प्रदर्शन हुनेछ ।

