गत शुक्रबारबाट देशभर रिलिजमा आएको फिल्म मन्जरीले पूर्वको नौ जिल्लामा लिम्बुवानले गरेको बन्दको मार खेप्नु पर्यो । रिलिज भएको दिन शुक्रबार फिल्मले दर्शकको सकारात्मक प्रतिक्रिया सहित औसत व्यापार गरे पनि त्यसपछि ४ दिन लगातार पूर्व बन्द भईदिंदा फिल्मलाई ठुलो घाटा लागेको थियो । फिल्म हेर्न ठुलो जमात दैनिक जसो हलमा आएर निरास भएर फर्कन बाध्य भएका थिए । तर हिजोबाट बन्द खुले पछि फिल्म हेर्न दर्शकको भिड फेरी पनि हलमा देखिएको छ ।
बंगाली फिल्मबाट कपि गरेर भए पनि उत्कृष्ट फिल्म बनाईएको भनेर तारिफ र नकारात्मक कमेन्ट दुवै पाएको फिल्मलाई भने फिल्म हेर्ने पूर्वेली दर्शकले मनपराएका छन् । सामाजिक संजाल र अन्य स्रोतमा फिल्मको राम्रो कमेन्ट सुनेर धरानको गणेश टाकिजमा फिल्म हेर्न आएको इटहरीका एक दर्शकले बताए । पूर्वका करिब आधा दर्जन बढी हलमा प्रदर्शन भैरहेको फिल्मको बन्द पश्चातको कलेक्सन राम्रै रहेको वितरक चैतन्य बरालले बताए । धरानको गणेश टाकिजमा बन्द खुले पछि हिजो भन्दा आज मातातिर्थ औसीको दिन कलेक्सन राम्रो रहेको उनले जानकारी गराए ।
कक्षा १२ को परिक्षा सकिनासाथ फिल्म हेर्न आएकी स्मृति भण्डारीले आफुलाई फिल्मले आँखाभरि आँशु ल्याएको बताईन् । उनीसँगै आएका उनका सबै साथीले पनि फिल्म मनपरेको बताए । फिल्म हेर्ने अधिकांश दर्शकले यसै फिल्म मार्फत डेब्यु गरेका कलाकार गौरव पहरी र सुजाता कोइरालाको अभिनय उत्कृष्ट लागेको बताए । उता बालकलाकार सुजन थापा र हाँस्य कलाकार रेशम फिरिरीको दृश्यहरुमा हल भरि हाँसो गुन्जयमान भएको थियो भने फिल्मको अन्त्य तिर दर्शक भावुक बनेका थिए ।
बन्दले फिल्मको व्यापारमा असर गरेपनि फिल्म हेर्ने दर्शकको प्रतिक्रियाले गर्दा फिल्मले बिजनेसमा पिकअप लिने विश्वास यहाँका हल संचालक र वितरकले गरेका छन् ।

