निर्माता नरेन्द्र महर्जनले नेपाली फिल्म क्षेत्रमा लगानी गर्न अब सोच्नु पर्ने अबस्था आएको बताएका छन् । ठुलो आश र भरोसा लिएर हेटौंडामा सुबिधा सम्पन्न सिनेमा हल निर्माण गरेको तर दर्शकहरुको आगमन शून्य भएपछि अब फिल्म निर्माणमा गहिरो सोच आएको बताएका हुन् ।
हेटौंडामा पत्रकारहरु सँगको कुराकानीमा उनले फिल्म क्षेत्रको व्यवसायिक अबस्था दिनानु दिन घट्दै गैरहेकाले यस्तो मनस्थिती आएको बताएका हुन् । नयाँ बर्षबाट केही होला की भनेर सोच बनाएको तर रिलिज भएका फिल्मले निराश बनाएकाले आशै आशमा समय बितिरहेको उनको गुनासो छ । फिल्म क्षेत्रको यो अबस्थाले देशको अर्थतन्त्रमा ठुलो असर पुगेको पनि नरेन्द्रले बताए ।
आफुले दर्शकहरुको चाहना बुझेर फस्ट लभ निर्माणबाट फिल्म निर्माण यात्रा सुरुवात गरेदेखि छडकेसम्म आईपुग्दा दर्शकहरुमा न्याय दिन खोज्दा पनि आर्थिक अवस्था नसुध्रिएकाले अब फिल्ममा लगानी गर्न सोच्नु पर्ने अवस्था आएको उनले बताए । 'हामीले आश गरेका फिल्महरुको ब्यापार ठयाप्पै भएकाले अब कस्तो फिल्मले कस्तो ब्यापार गर्छ भन्न र अड्कल काट्न नसक्ने अबस्था आएको छ,' नरेन्द्रले भने ।
आफुले लामो समय देखी फिल्म क्षेत्रमा लगानी गर्दै आएकाले चटक्क छाड्न गार्हो भएकोले पनि यसको लागि अब केही साथीहरुसँग मिलेर कम्पनी खडा गरी मात्र फिल्म गर्नुपर्ने अन्तिम विकल्प आफूसँग रहेको उनको भनाई छ । कम्पनी खडा गरेर फिल्म गर्दा घाटा भएपनि थोरै हुने नाफा भएपनि थोरैमा चित्त बुझाउन सकिने बताउदै यो विकल्पमा आफु रहेको उनले बताए । 'नेपाली फिल्मलाई स्तरिय बनाउन धेरै कोशिस गरिएको हो । भोली भन्दा भन्दै दिन बितेर गयो, बैंकको व्याज बढेर गयो अन्तमा हात लाग्यो शून्य,' नरेन्द्रले भने ।

