एक सातामा दुई भन्दा बढि फिल्म रिलिज हुने क्रम अझै रोकिएको छैन । फिल्म धमाधम एकआपसमा भिडिरहेका छन् भने निर्माता व्यवसायिक असफलताले पुर्पुरो समातेर लडिरहेका छन् ।
आगामी जेठ ३ गते चार फिल्महरू अन्तराल, खग्रास, दिल र रिया एकसाथ प्रदर्शनमा आउँदैछन् । यि मध्ये कति फिल्म दर्शकको पर्खाईमा होलान् त कति फिल्मको नाम समेत दर्शकले थाहा नपाएका होलान् । एक त प्रचारप्रसारमा कन्जुस्याईं अर्को दर्शकलाई आकर्षण गर्न सक्ने खालको पब्लिसिटी सामाग्री नहुनुले पनि फिल्म प्रतिको आकर्षण कम देखिएको हो ।
प्रचारप्रसारको कुरा गर्ने हो भने अन्तराल सबैभन्दा अगाडी देखिएको छ । छापा देखि टेलिभिजन र अनलाईनमा यो फिल्मको चर्चापरिचर्चा चलिरहेको छ । फिल्मका गीतसंगीत, प्रोमो तथा पोस्टरलाई दर्शकले रूचाएको पाईएको छ । युवाहरू लक्षित निर्माण गरिएको यो फिल्म अरू भन्दा केहि फरक पक्कै देखिएको छ । महिला निर्देशक दीपा बस्नेतले तयार पारेको अन्तरालमा थिएटरका अनुभवी कलाकारहरूको अभिनय रहेकाले पनि सफलताको आश गरिएको छ ।
अन्तराल बाहेक अन्य फिल्महरूको प्रचारप्रसार न्यून देखिएको छ । जसले गर्दा दर्शकहरू माझ फिल्मको बारेमा प्रयाप्त जानकारी पुग्न सकेको छैन । निकै पुराना फिल्मकर्मी शैलेश आचार्यले निर्देशन गरेको फिल्म खग्रासले माओवादी द्वन्द्वकालका केही घटनालाई आधार बनाई नेपालको राजनितिक अवस्था र त्यसले जनमानसमा पारेको प्रभावलाई कथानक बनाएको छ । फिल्ममा सुनिल पोखरेल, संयोग पोखरेल, सोनी केसी, दुर्गा बराईली, एन्थोनी विलेट, एलिस प्रोय लगायतको अभिनय रहेको छ ।
मनोज श्रेष्ठको निर्देशन तथा निर्माणमा बनेको फिल्म दिल पनि प्रचारप्रसारमा पछाडी नै छ । दिल श्रेष्ठ र झरना थापाको मुख्य भुमिका रहेको यो प्रेमकथानक फिल्मले निर्मातालाई कुन मोडमा पुर्याउँछ हेर्न बाँकि छ । सुजित कुमारको लेखन, निर्माण, निर्देशन तथा अभिनय रहेको फिल्म रियाले प्रचारप्रसार ठिकै मात्रामा गरेको छ । तर यो फिल्मका पब्लिसिटी सामाग्रीमा भने कुनै आकर्षण देखिंदैन ।


