वैशाख कृष्ण अमावस्या हिन्दू संस्कृतिमा आमाको मुख हेर्ने दिनका रूपमा परिचित छ । यो दिनलाई अर्को शब्दमा मातृऔंसी, मातृदिवस, मातातीर्थ औंसी आदि पनि भनिन्छ । नौ महिनासम्म शिशुलाई गर्भमा धारण गरेर जन्म दिने आमा वास्तवमै महान् छिन् । यहि महान हुनुको गौरव नायिका झरना थापालाई पनि छ । सृष्टिकर्ता हुन पाउँदा आफूलाई निकै भाग्यमानी ठान्ने झरनासँग 'आमा' शब्दको बुझाई र अनुभव यस्तो छ -
'अरूको लाख, आमाको काख' भन्ने लोकोक्ति सायद सबैलाई थाहा नै होला । हो, सन्तानका लागि आमा जत्तिको माया प्रदान गर्ने अरू कोही हुँदैनन् । हामी कुनै दुःख-कष्ट आइपर्दा पहिले आमालाई नै सम्झन्छौं । बिशेषत: आफ्नै शरिरको जुनकुनै अंगमा चोट लाग्यो वा ठेस मात्र लाग्यो भने पनि आमालाई पुकारिन्छ किनकी हाम्रो अचेतन मनमा पनि आमाको बास हुन्छ । आमा त्यो प्राणी हुन् जसमा हरेक सुख दु:ख सहन सक्ने क्षमता हुन्छ । अझ दु:ख पर्दा पुकार्ने पहिलो शब्द 'आमा' यति शक्तिशाली हुन्छ कि त्यो शब्द उच्चारण गर्ने बित्तिकै केहि पलका लागि हाम्रो दु:ख हराउँछ ।
वास्तवमा भन्दा आमाको त्याग, तपस्या एवं बलिदानबाट नै सृष्टिले निरन्तरता पाएको छ । आमाविना सृष्टि सम्भव छैन । त्यसैले पनि आमा हुन पाउँदा म आफूलाई गर्व गर्छु । आजकै दिनबाट १६ बर्ष पुगेकी मेरी छोरीलाई जन्माउँदा मैले संसारकै सुख प्राप्तीको अनुभव गरेकी थिएँ । हिजोको दिनमा म छोरी थिएँ । आमाबाट माया र स्नेह पाएँ अनि अनुशासन, संस्कार, असल व्यवहार सिकें र आज त्यहि कुरा आमा भएर छोरीलाई सिकाउन पाउँदा हर्षित छु । एउटा जिम्वेवार आमा बन्न पाउँदा खुसी को नहोला र ?
आमाको साथ पाएपछि म जसरी ढुक्क हुन्थे आज छोरीलाई त्यहि अनुभव दिने प्रयास गरिरहेकी छु । मैले आफ्नी आमाबाट जे सिकें त्यो छोरीलाई सिकाएकी छु । गर्वका साथ भन्ने हो भने आज मेरो परिवार संस्कारी, अनुशासित, व्यवहारिक बनेको छ । यो कुरा हरेक परिवारमा हुनु जरूरी पनि छ । छोराछोरीलाई जन्म दिंदैमा आमा बन्न सकिन्न । छोराछोरीलाई जबसम्म संस्कारी, व्यवहारिक, अनुशासित र साधारण जीवन जीउन सिकाउँदिनन् तबसम्म आमा असल आमा बन्न सक्दिनन् ।

