देशभर चलिरहेको फिल्म 'मञ्जरी'का निर्देशक गणेश देव पाण्डेले समिक्षकका लागि नभई दर्शकका लागि फिल्म बनाएको बताएका छन् । बंगाली फिल्मलाई रिमेक गरेर निर्माण गरिएको यो फिल्म दर्शकले रूचाईरहेकाले निर्देशक पाण्डेले सरोकार समिक्षकसँग नभई दर्शकसँग रहेको बताए ।
'मैले रिमेक गरेको हो तर दर्शक ठग्ने काम गरेको छैन,' फिल्मको समिक्षा आएपश्चात केहि तनावमा रहेका निर्देशक पाण्डेले भने- 'अहिलेसम्म कुनैपनि दर्शक फिल्म हेरेर निराश भएको पाएका छैनौं ।' फिल्मको कथा नयाँ नलागे पनि अभिनय, गीतसंगीत तथा प्रस्तुती दर्शकका लागि नयाँ भएको उनको दाबी छ ।
बलिउडमा पनि अधिकांश फिल्म रिमेक नै गर्ने चलन रहेको र ति फिल्मलाई दर्शकले रूचाईरहेको उदाहरण दिंदै पाण्डेले भने- 'एउटै फिल्मलाई पाँच पटक रिमेक गरेर पनि दर्शकले रूचाएको उदाहरण हामीसँग छ । त्यसैले रिमेक गर्यो या गरेन भन्ने कुरालाई ध्यान दिनुभन्दा पनि फिल्म हेरिञ्जेल मनोरञ्जन भयो या भएन भन्ने कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ ।' दर्शकले फिल्म हेर्दा रिमेक गरेको नगरेको कुरालाई ध्यान नदिने उनको तर्क छ ।
बलिउडमा केहि संघर्ष गरेर नेपालमा फिल्म मेकिङमा भविष्य खोजिरहेका निर्देशक पाण्डेले नेपाली फिल्मलाई माया भन्दा बढि घृणा गर्ने चलन रहेकाले आफू निरूत्साहित भएको बताए । 'यस्तै पारा हो भने नेपाली फिल्ममा भविश्य खोज्ने सपना देख्नु बेकार छ,' पाण्डेले भने- 'सबैको साथ र सहयोग नपाउँदा काम गर्ने जोश नै हराएर गएको छ ।'
गौरव पहारी र सुजाता कोईरालाको प्रेमकथालाई बुनेर निर्माण गरिएको यो फिल्मको माउथ पब्लिसिटी राम्रो रहेकाले बिजनेश पनि हिजोका दिनमा भन्दा आज बढ्दै गएको निर्माता महेश चालिसेले बताएका छन् । 'हाम्रो अपेक्षा पनि बिस्तारै पिकअप लिंदै जान्छ भन्ने थियो,' निर्माता चालिसेले भने- 'सोचे अनुरूपले बिजनेश नभएपनि हामी सन्तुष्ट भने छौं ।'

