फिल्म बन्दैमा प्रतिक्षित हुँदैन । कथाबस्तु, मेकिङ शैली, कलाकारको अभिनय, प्रस्तुती लगायत सहित सार्वजनिक भएका गीतसंगीत र प्रोमोहरूको साथमा दर्शक, सञ्चारकर्मी तथा फिल्मकर्मीले देखाएको चासोको आधारमा फिल्म प्रतिक्षित लिस्टमा पर्छ । जेठ १० गते रिलिज हुन लागेको 'उमा' पनि यिनै बिबिध कारणले प्रतिक्षित बनेको छ ।
माओवादी द्धन्दकालमा एक परिवारले भोग्नु परेको पिडामा आधारित रहेर वैचारिक मतभेदका आधारमा विछोडिन पुगेका दुई दाजुबहिनीको प्रेम सम्बन्धको वरिपरि घुमेको फिल्म 'उमा' रिलिजको संघारमा छ । प्रतिक्षित फिल्मको लिस्टमा रहेको यो फिल्मलाई छिरिङ रितार शेर्पाले निर्देशन गरेका हुन् । नेपालका विगत र वर्तमान राजनीतिक घटनाक्रम तथा परिवर्तनले नेपालीको जनजीवनमा पारेको प्रभावलाई निर्देशक शेर्पाले फिल्ममा उतार्ने प्रयास गरेको बताएका छन् । उनले यो फिल्मलाई द्धन्दबाट पीडित नेपाल र नेपालीको समग्रताको कथा भनेका छन् ।
फिल्म मेकिङमा राम्रो दक्षता हासिल गरेका छिरिङले अभिनेत्री ऋचा शर्मालाई लिड रोलमा उभ्याएका छन् । पहिलो पटक निकै बोल्ड भुमिका पाएकी ऋचाले पनि यो फिल्मलाई आफ्नो करियरको टर्निङ प्वाईन्टको रूपमा लिएकी छिन् जबकी निर्देशक शेर्पाको लागि यो फिल्मले ठूलो महत्व राखेको छ । सौगात मल्ल, मिथिला शर्मा, प्रबिण खतिवडा, प्रकाश घिमिरे, अशोक शर्मा, दयाहाङ राई, प्रमोद अग्रहरी, पुष्कर गुरूङ, शान्ति गिरी लगायतको अभिनय हेर्न सकिनेछ । फिल्मलाई पुरूषोत्तम प्रधानले खिचेका हुन् ।

