०६८ सालको ब्लकबस्टर फिल्म 'लुट'का निर्देशक निश्चल बस्नेतको परिचय थपिएको छ । निर्देशकसँगै फिटकिरी फिल्ममा अभिनय गरेका निश्चलले जेठ ३१ गते रिलिज हुन लागेको फिल्म 'कर्कश'का दुई गीत गाएका छन् ।
'हामीलाई फरक टेस्ट चाहिएको थियो त्यसैले निश्चललाई गाउन आग्रह गर्यौं,' निर्देशक आशिफ शाहले निश्चलको स्वरको तारिफ गर्दै भने- 'उहाँ प्रोफेश्नल गायक भन्दा कम हुनुहुन्न भन्ने कुराको पुष्टी भएको छ ।' सुन्दा झर्को लाग्ने अर्थ बोकेको कर्कशमा निश्चलको स्वर सुन्दा भने आनन्द लाग्ने निर्देशक शाहको भनाई छ । चार गीत समावेश यो फिल्ममा बाँकी दुई गीतमा धर्मेन्द्र सेवानको स्वर रहेको छ ।
यता निर्देशक बस्नेतले गायन आफ्नो रूची भएकाले पनि गाउन गार्हो नभएको बताए । लुटको आईटम गीतमा समेत स्वर दिएका निश्चलले गायन पेशालाई बिबिध कारणले अगाडी बढाउन नसकेपनि बेला बेला मौका मिलेको खण्डमा गाउने बताए । यस्तै अभिनय पनि उनको रूचीकै पेशामा पर्दछ । फिल्ममा आउनुपूर्व स्पोर्टमा आबद्ध रहेका निश्चलले संकटा क्लबबाट फुटबल पनि खेले । स्विमिङमा समेत रूची राखेका उनले फिल्म क्षेत्रलाई आफ्नो मुख्य पेशा बनाएपश्चात स्पोर्टसलाई भने अगाडी बढाउन सकेनन् ।
'मैले नजानेको काममा हात हालेको छैन,' निश्चलले भने- 'जे जति जानेको छु त्यो दर्शकलाई देखाउन खोजेको मात्र हो ।' आफूले काम गरेर कुनै प्रोजेक्टलाई फाईदा हुने भए मात्र हाता हाल्ने निश्चल बताउँछन् । 'फिल्म क्षेत्रमा आईसकेपछि धेरै कुरा सिक्नुपर्छ । यहि क्रममा मैले सिक्नको लागि पनि अभिनय गरेको हुँ र संगीत क्षेत्रलाई पनि नजिकबाट बुझ्न बेला बेला गीत गुनगुनाउने गर्दछु,' निश्चलले भने ।
म्यूजिक भिडियो र विज्ञापन मेकिङमा नाम कमाएका आशिफ शाहले यो फिल्मलाई जि.टू.वान प्रोडक्सन ब्यानर मार्फत डेब्यू गर्दै निर्देशन गरेका हुन् । फिल्मलाई पूर्ण कर्मिशिल बनाउन अचार जस्तो स्वाद पस्किन खोजेको आशिफको तर्क छ । म्यूजिकल ब्याण्डको स्टोरी रहेको बताईएको यो फिल्ममा चर्चित भिजे सुरज सिंह ठकुरीको साथमा सत्यराज आचार्य, रेमनदास श्रेष्ठ र दयाहाङ राई मुख्य भुमिकामा छन् ।

