सधैं आरोप लाग्ने गरेको छ कि निर्माता छबिराज ओझाले नै फिल्म रिलिजका लागि किन मुख्य चाड नै पाउँछन् ? 'दर्शकका लागि रेगुलर राम्रो फिल्म दिएपछि राम्रो समय पाउनु पर्यो नि त,' निर्माता छबि भन्छन्- 'मैले गत बर्ष दशैंमा रिलिज गरिन तर खै कसैले चमत्कार देखाउन सकेनन् ।'
प्राय: दशैं र नयाँ बर्षमा आफ्नो फिल्म रिलिज गर्ने गरेका छबिले गत नयाँ बर्षमा हमेशा रिलिज गरे भने अब आगामी दशैंमा आफ्नै व्यानरको फिल्म 'लोफर' रिलिज गर्ने घोषणा गरेका छन् । आज सोमबारबाट ललितपुरको गोदावरीमा सुटिङ शुरू गरिएको यो फिल्म असोज २५ गते फुलपातीका दिन रिलिज गर्ने छबिको भनाई छ । 'गत दशैंमा दर्शकले रूचाउने खालको फिल्म रिलिज भएन त्यसैले यसपटक म नै दर्शकको रोजाईको फिल्म लिएर आउन लागेको हुँ,' छबिले भने ।
.jpg)
फर्मुका शैलीको फिल्म निर्माणमा खप्पिस मानिने छबिले यसपटक पनि फर्मुला शैलीकै फिल्म बनाउन लागेको बताए । 'यसपटक एक्सन, लभ, रोमान्स, कमेडी सहितको सुधारिएको मसलेदार फर्मुला फिल्म बनाउँदैछु,' छबिले भने- 'यो फिल्मले मेरा रेगुलर दर्शक मात्र हैन अन्य नयाँ दर्शकलाई पनि तान्ने छ ।' आर्यन सिग्देल, दयाहाङ राई, कमलमणी नेपाल, सुशिलराज पाण्डे, अनुपम शर्मा, सागर लम्साल 'क्षेत्री', रजनी केसी लगायतका कलाकारको अभिनय रहने यो फिल्ममा थिएटरका कलाकारको बाहुल्यता रहेको छ ।

नयाँ अनुहारलाई भित्र्याउन खप्पिस मानिने छबिले यसपटक निर्देशक सहित केहि कलाकार र संगीतकारलाई डेब्यू गराउँदैछन् । आदित्य विक्रम लम्सालले पहिलो पटक निर्देशन गर्ने यो फिल्ममा डेब्यू गर्दै सोनाल सापकोटाले संगीत भर्नेछन् । नायिकाको रूपमा रजनीको पनि यो डेब्यू फिल्म हुनेछ । यस्तै फिल्ममा मदन कास्यप घिमिरेको छायाँकन, चन्द्र पन्तको द्धन्दनिर्देशन तथा कविराज गहतराजको करियोग्राफी रहनेछ । यसपटक छबिले रेखा थापालाई भने छोडेका छन् ।

