प्रबिधिको विकाससँगै नेपाली फिल्मको प्रचारप्रसार शैलीमा पनि प्रबिधिले नयाँ फड्को मार्न थालेको छ । टेलिभिजन, एफएम रेडियो र पत्रपत्रिकामा सिमित रहने नेपाली फिल्मको पब्लिसिटी क्याम्पियन अनलाईन पोर्टलमा आजभोली बढि फोकस हुन थालेको छ । नेपालसँगै अर्न्तराष्ट्रिय बजारमा अनलाईनको भुमिका महत्वपूर्ण रहने भएकाले पनि फिल्मकर्मीहरू अनलाईन प्रबर्द्धनमा फोकस हुन थालेका हुन् ।
यहि क्रममा जेठ १० गते रिलिज हुन लागेको फिल्म 'उमा'को निर्माण युनिटले फिल्मलाई अनलाईनमा प्रबर्द्धन गर्न 'आई-बुक' रिलिज गरेको छ । आई-ट्यून्स स्टोरबाट नि:शुल्क डाउनलोड गर्न सकिने यस आई-बुकमा फिल्म उमाको बारेमा सम्पूर्ण जानकारी लिन सकिनेछ । नेपालमा पहिलो पटक यसरी आई-ट्यून्समा फिल्मको बारेमा जानकारी दिन खोजिएको हो ।
एक साता भित्रमा रिलिज हुने यो 'आई-बुक'लाई आई-ट्यून्स पश्चात एन्ड्रोइड फोनमा पनि उपलब्ध गराईने पब्लिसिटी डिजाईनर स्वप्निल आचार्यले आज आयोजित प्रेस भेटघाट कार्यक्रममा जानकारी गराए । यसअघि फिल्म निर्माण युनिटले पब्लिसिटीको नयाँ स्वरूप अर्न्तगत पजल गेम पनि लञ्च गरेको थियो । उक्त गेमबाट सकारात्मक प्रतिक्रिया पाएपश्चात 'आई-बुक' रिलिज गरिएको हो ।

माओवादी द्धन्द्धकालको समयमा वैचारिक भिन्नताले गर्दा बिछोडिएका दाजुबहिनी (मिलन र उमा) र उनीहरूकी बिधवा आमा बिचको कथामा आधारित फिल्म उमा अहिले प्रतिक्षित बनेको छ । सोसल मिडियामा निकै राम्रो चर्चा पाएको यो फिल्मको सार्वजनिक गीत तथा प्रोमोलाई निकै रूचाईएको पाईएको छ । यस्तै फिल्म निर्माण टिमले आजै राजधानीमा पत्रकारहरू माझ 'बनकी चरी' बोलको अर्को गीत पनि रिलिज गर्यो । यो गीतलाई अनलाईनमा केहि समयपश्चात हेर्न सकिनेछ ।
फिल्म निर्माण कम्पनी मिला प्रोडक्सनले अमेरिकाको न्यूयोर्कमा कार्यरत एक गैरसरकारी संस्था 'एम्पावर वान'लाई नेपालसँगै जुन महिनाको पहिलो साता रिलिज गर्ने गरि अमेरिका र क्यानडाको लागि प्रदर्शन अधिकार दिएको छ । नेपालका असहाय बालबालिकालाई सहयोग गर्दै आएको यो संस्थाले नेपाली फिल्मलाई प्रबर्द्धन गर्न उमालाई रिलिज गर्न लागेको बताएको छ ।

छिरिङ रितार शेर्पाको निर्देशन रहेको यो फिल्ममा ऋचा शर्मा, सौगात मल्ल, मिथिला शर्मा, प्रबिण खतिवडा, प्रकाश घिमिरे, अशोक शर्मा, दयाहाङ राई, प्रमोद अग्रहरी, पुष्कर गुरूङ, शान्ति गिरी लगायतको अभिनय हेर्न सकिनेछ । फिल्मलाई पुरूषोत्तम प्रधानले खिचेका हुन् भने संगीत गोपाल योञ्जन र अभया एण्ड दि स्टिम इन्जन्सको रहेको छ ।

