नेपाल चलचित्र विकास बोर्डमा रहेका कर्मचारीहरूको संगठन 'नेपाल राष्ट्रिय कर्मचारी संगठन'को काम चित्त नबुझेपछि बोर्डका केहि कर्मचारीहरूले अर्को संगठन खोल्ने तयारी गरेका छन् । काँग्रेस समर्थित 'चलचित्र विकास बोर्ड कर्मचारी संघ' नामक प्रतिष्ठान लेभलको युनियन खोल्ने तयारी गरिएको हो ।
बिकास बोर्डका सदस्य चिरञ्जिबी गुरागाईंको नेतृत्वमा खोल्न लागिएको सो संघमा जान खोजेका कर्मचारी दिल बहादुर थापालाई जान नदिन माओवादी समर्थित नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष आनन्द घिमिरे, महासचिव हेमाङ्गराज गिरी, सदस्य प्रभाकर भट्टराई लगायतले धम्की दिएका छन् । 'गए राति ११ बजे उहाँहरूकै सदस्य हरि बहादुर थापा मेरो घरमा आएर जबर्जस्ती एक कागजमा हस्ताक्षर गर्न लगाउनु भयो', बोर्डका सवारी चालक दिल बहादुरले भने- 'राम्रोसँग भनेको भए सायद कुरा मान्थे होला तर उहाँले धम्काउनु भयो त्यसैले म अब अर्को संघमा जाने निर्णय गरिसकें ।'
यता 'नेपाल राष्ट्रिय कर्मचारी संगठन'का अध्यक्ष आनन्द घिमिरेले दिल बहादुर आफ्नै संगठनको साधारण सदस्य भएकोले कुनैपनि किसिमको धम्की नदिएको बताए । 'हामीले एकिकृत भएर जानुपर्छ धेरै संघ खोल्नु हुँदैन भनेर सम्झाउन खोजेका मात्र हौं,' आनन्दले भने- 'बरू उल्टै हाम्रै संगठनका सदस्यहरूलाई उहाँहरू (खुल्न लागेको नयाँ संगठनका सदस्यहरू)ले ललाईफकाई गरेर आफ्नो संगठनमा तान्न खोज्दै हुनुहुन्छ ।' चित्त नबुझेको खण्डमा संगठन खोल्न पाउने भएकाले आफूहरूले पनि जस्ले संगठन खोलेपनि कुनै हस्तक्षेप नगर्ने आनन्दको भनाई छ ।
खुल्न लागेको 'चलचित्र विकास बोर्ड कर्मचारी संघ'लाई नेतृत्व गरिरहेका चिरञ्जिबीले अहिलेको कर्मचारी युनियनले कर्मचारीहरूको हकहितका लागि कुनैपनि उपलब्धिमूलक काम नगरेकाले नयाँ संगठन खोल्न लागेको बताए । चित्त नबुझेको खण्डमा २५ प्रतिशत संख्या पुर्याएर कम्तिमा १० जना सदस्य बनाउन सके नयाँ संगठन खोल्न पाईन्छ ।

