आकाश अधिकारीलाई डाईरेक्टरको रुपमा अनुबन्ध गरेको दुई महिना पछि श्रीकृष्ण श्रेष्ठले आफ्नो नयाँ फिल्मको टाईटल रिभिल गरेका छन् ।
श्रीले बनाउन लागेको नयाँ फिल्मको टाईटल 'कोहिनुर' जुराईएको छ । 'हामीलाई अत्यन्त गार्हो परेको थियो टाईटल फिक्स गर्न त्यसकारण कुन नाम सार्वजनिक गर्ने भन्ने दोधार थियो तर सवैको सहमतिमा यो टाईटल सार्वजनिक गरेका हौ,' श्रीले भनेका छन् । महंगो धातु हिराको एक नम्बर जातलाई कोहिनुर भनिन्छ जसलाई फिल्ममा कथा अनुसार प्रयोग गरिएको श्रीको भनाई छ ।
कहाँ भेटिएला जोडी स्वेतासंगको अनस्क्रिन रोमान्सलाई पुनः पर्दामा उतार्ने गरी श्री अहिले यो प्रोजेक्टको प्रि–प्रोडक्सनमा ब्यस्त छन् । आकाश अधिकारीलाई अनुबन्ध गरेपश्चात फिल्मलाई उच्चकोटी बनाउने दाबी अझ बढेको छ उनको । उनी भन्छन्- 'आकाश जी भएपछि कुरै नगरौ ।'

'चलन चल्तीको शब्द अलि हैन त्यसकारण पनि पब्लिकलाई क्लिक हुन सजिलो हुन्छ भनेर हामीले कोहिनुर फाईनल गरेका हौ,' कोहिनुर नै किन लक गरियो भन्ने प्रश्नमा आकाशको तर्क छ । कोहिनुरको कथा आकाशको हो । यो फिल्मलाई सस्पेन्स र रोमान्सले भरिपूर्ण बनाउन स्क्रिप्ट नौ पटक सम्म रि–करेक्ट गरिएको आकाशको भनाई छ । यध्यपी स्क्रिप्टलाई फाईनल लक चाहि तत्काल नगरिएको उनले बताएका छन् । कथा बाहेक यो फिल्ममा उनको शिर्ष गीत पनि रहने छ ।
उनी बाहेक सुन्दर श्रेष्ठ, कृष्णहरी बराल र किरण खरेल जस्ता हस्तीहरुले पनि एक एक गीत लेखिसकेका छन् कोहिनुरका लागि । गीतहरुलाई संगीत भर्ने काम चाहि शम्भुजीत बास्कोटाले करिब सकिसकेको स्थिती छ । फिल्म सुटिङका लागि डेढ महिना भित्रमा फ्लोर जोईन गर्ने श्रीको भनाई छ ।

