सुरेश अधिकारी संगीत सृजनामा जति सबल छन् त्यति नै गीत लेखनमा नरहेको नतिजा म्यूजिक खबर म्यूजिक अवार्डले देखाएको छ । बरिष्ठ संगीतकार सुरेश अधिकारीले मायाज बारका लागि जुन गीत लेखेका थिए त्यस गीतको संगीत सृजनाबाट अवार्ड थाप्न सफल भए भने रचनामा चाहि उनले हार ब्यहोरे । उनले हार चाहि फिल्म जर्नलिष्ट नरेश भट्टराईसंग ब्यहोर्नु परेको हो ।
नरेशले धुवाँ यो नशा फिल्मको लागि लेखेको "बाधन बाध ..." बोलको गीतबाट उत्कृष्ट रचनाकारको आवर्ड आज थापेपछि अवार्ड माहोलमा सुरेश र नरेशको गीतको बिषयमा चर्चा भएको थियो । नरेशले एघार बर्षको अवधिमा पचास वटा फिल्ममा ६० वढी गीत लेखिसकेका छन् त्यस मध्येबाट पहिलो पटक उनी टप फाईभ नोमिनेशनमा पर्दै अवार्ड जित्न सफल हुदा उनको हर्षको सिमा थिएन ।

२८ बिद्या मध्ये चार बिद्या फिल्म उद्योगका लागि छुट्याईएको थियो त्यस मध्ये दिनेश डिसी निर्देशित फिल्म मायाज बारको कुन दिनमा 'बाधेछु यो घुङरुबाट..' महिला पाश्र्व गायनको अवार्ड दुर्गा परियारले लगिन् भने यहि गीतबाट सुरेश अधिकारीले संगीतकारको अवार्ड हत्याए । यो बाहेक पुरुष पाश्र्व गायनको अवार्ड विन्दास फिल्मबाट शिव परियारको पोल्टोमा परेको छ ।
दोस्रो संस्करणको रुपमा आज सम्पन्न यो अवार्ड कार्यक्रम आगामी बर्ष पनि जारी राख्ने अठोट कार्यक्रम अध्यक्ष सुमन बैरागीले ब्यक्त गरेका छन् । अवार्ड कार्यक्रममा निर्देशक समाजका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई सम्मान पनि प्रदान गरिएको थियो ।

तस्बिर सौजन्य : सुमित शाक्य

