Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`उमा`सँग जोडिएको सौगातको करिअर

रेम बिक, पोखरा, 2013/04/27

हाकु काले उर्फ सौगात मल्ल । लुटको सफलतासंगै यो नामको चर्चा फिल्म उद्योगमा निकै छायो । हाकुले धमाधम फिल्म पनि पाए । भन्नेले यस्तो पनि भने- 'अब फिल्म उद्योग हाँक्ने नै सौगातले हो ।' लुटभन्दा अगाडी फाट्टफुट्ट फिल्ममा देखिने सौगातले लुट फिल्ममा देखाएको अभिनय कौशलकै कारणले फिल्म उद्योगले उनीमाथि निकै आशा गरेको हो ।



तर, हाकु कालेले उद्योग नै धान्ने भन्ने फिल्मी पण्डितहरुको भविष्यवाणी विस्तारै फेल खाँदै गएको छ । लुटले जति सफलता पाएको थियो त्यसपछि आएका सौगातका अन्य फिल्महरु धमाधम असफल हुँदै गएपछि पछिल्लो समय “हाकु कालेको पनि दिन गए” भन्ने गाँईगुई चल्न थालिसकेको छ । लुटपछि आएको सौगात अभिनित फिल्महरु हाईवे, सुनगाभा, कथा, वधशाला, छड्केको असफलताले उनलाई ठुलै धक्का दियो । र, धेरैले उनको कुरा काट्ने बाटो पाए ।



एउटा फिल्म हिट हुँदा मिडियाले दिएको चर्चा सौगातले शायद भुलेका छैनन् । फिल्म लगातार असफल भैरहँदा सौगातलाई पनि पक्कै नराम्रो लागेको होला । “सास रहुञ्जेल आश रहन्छ” भनेजस्तै सौगातलाई अझै पनि आश मारिहाल्नुपर्ने स्थिती भने आएको छैन । कारण उनले अभिनय गरेको फिल्म उमा जेठ १० गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई धेरैले प्रतिक्षित फिल्मको लिस्टमा राखेका छन् ।

 

फिल्म उमासंग सौगातसंगै निर्देशक छिरिङ रितार शेर्पा र नायिका ऋचा शर्माको पनि करिअर जोडिएको छ । ऋचाले पनि फस्ट लभपछि आएका कुनै पनि फिल्ममा धमाका मच्चाउन सकेकी छैनन् । सशस्त्र द्धन्दमा आधारित रहेर बनाईएको फिल्म उमालाई दर्शकले कत्तिको साथ दिने हुन् त्यो भने प्रदर्शनपछि नै थाहा हुनेछ । आशा गरौँ यो फिल्मले छड्केले जसरी दर्शकहरुलाई लोप्पा नखुवाओस् । फिल्म सहित यसका नायक सौगात, निर्देशक शेर्पा र नायिका शर्माको करिअर उकालो लागोस् शुभकामना !