छैठौं अध्यक्ष चयनका लागि भोली हुने निर्देशक समाजको चुनावी माहोल पूर्ण रुपमा तातेको छ । अध्यक्ष पदका लागि कडा प्रतिष्पर्धा गर्दै नरेश पौडेल र दिनेश डिसीले उम्मेदवारी दिने निश्चित भएको छ भने चुनावी माहोलमा आफ्ना विपक्षीको भोट काट्न नवनिर्देशक सुवास कोईरलालाई उठाईने राजनीति पनि चलिरहेको छ । यध्यपी सुवास अध्यक्षमा उठ्छन् वा उठ्दैनन् त्यो भोलीकै दिनले तय गर्ने छ ।

चुनावी माहोलको स्थिती बुझ्दा अध्यक्षमा जसको आएपनि १५ प्रतिशतको अन्तरले आउने पूर्वानुमान गरिएको छ । चुनाव जित्ने दाबी चाहि डिसी र पौडेल दुवै पक्षधरहरुले गरिरहेका छन् । अध्यक्षमा जसको बिजयी भएपनि प्यानल चाहि आउने सम्भावना नरहेको शुक्रबार साँझ सम्मको अवस्थाले देखाएको छ । चुनावका लागि १३७ निर्देशक र २५ जना मुख्य सहायक निर्देशकहरुले भोट हाल्ने छन् । २५ मुख्य सहायकहरुले सदस्यमा उठ्ने आफ्ना दुई प्रतिनिधिलाई मात्र भोट हाल्न पाउने छन् भने १ सय ३७ निर्देशकहरुले सवैलाई भोट हाल्ने पाउने छन् ।
निर्वाचनमा खटिएका बरिष्ठ निर्देशकहरुको तर्कलाई आधार मान्ने हो भने १ सय १० देखि १ सय २०को संख्यामा मत खस्ने छ । १४ सदस्य नयाँ कार्यसमितिका लागि दुई उपाध्यक्षमा प्रमोद भण्डारी, राजु केसी, राकेश मानन्धर र सुचित्रा श्रेष्ठको भिडन्त हुने स्थिती देखिएको छ भने महासचिवमा ऋषि लामिछाने र अग्रज केसीको नाम छ । चुनावी माहोललाई गहिरिएर बुझ्दा अध्यक्ष पश्चात यहि पदका लागि ज्यादा राजनीति भएको देखिएको छ ।

यस्तै सचिवमा आज राति सम्मको स्थिती हेर्दा श्याम भट्टराई बाहेक अरु कसैको उम्मेदावरी पर्ने अवस्था देखिएको छैन । निर्वाचन माहोल र दुई तर्फी प्यानगल स्थिती बुझ्दा सचिव पदमा भट्टराई निर्विरोध निर्वाचित हुने सम्भावना ९५ प्रतिशत देखिएको छ । तरपनि यो पदमा बिजय बस्नेतको नाम पनि अघि सारिन सकिने संकेत देखिएकाले निर्विरोध विजयीको रूपमा भट्टराई हुन नसक्ने भन्ने पनि छ । यसैगरी कोषाध्यक्षका लागि सुमन दाहाल, योगेश घिमिरे र देवकुमार श्रेष्ठको नाम अघि सारिएको छ ।
सह–कोषाध्यक्षमा भने गोपालचन्द्र लामिछानेको मात्र नाम छ । सह–कोषाध्यक्षमा अर्का उम्मेदवार पनि उभ्याईने स्थिती शनिबार मध्यान्न सम्म देखिने छनक फिल्मीखबरले देखेको छ । यसैगरी सात सदस्य पदका लागि जनकदीप पराजुली, गोकुल राई र आरबी.के खत्री शरदको नाम मात्र आज राति सम्म बाहिरिएको छ ।
यसैगरी हुँदैछ चुनाव : निर्वाचन मण्डली
प्रमुख निर्वाचन आयुक्तको रुपमा समाजका पूर्व अध्यक्ष लक्ष्मीनाथ शर्मा रहेका छन् भने निर्वाचन आयुक्तमा बरिष्ठ जर्नलिष्ट शान्तिप्रिय र वकिल तारा कुमार श्रेष्ठ छन् । उनीहरुले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार बिहान ११ बजे देखि मध्यान्न १२ सम्म उम्मेदवारी दर्ता समय छुट्याईएको छ भने १२ देखि १२:३० सम्म उम्मेदवारी माथि दावी विरोध गर्ने समय तोकिएको छ ।
दाबी विरोध पश्चात अन्तिम नामावली प्रकाशन १ बजे हुने छ र १:१५ देखि ३:४५ सम्म मतदान हुने समय छुट्याईएको छ । मतदान पश्चात मतगणना र सोही अनुरुप नतिजा घोषणा र सपथ ग्रहण पनि भोली साँझ नै सम्पन्न हुने कार्यतालिका छ । निर्वाचन निर्देशक समाजको कार्यालय डिल्लीबजारमा हुनेछ ।
निवर्तमान अध्यक्षको डिजाईन
निवर्तमान अध्यक्ष केपी पाठकले अध्यक्ष पदका लागि दिनेश डिसीलाई जिताउन पहल गरेका छन् भने उपाध्यक्षमा प्रमोद भण्डारी र राजु केसीलाई आफ्नो डिजाईनमा राखेका छन् । यसैगरी महासचिवमा एमएस अग्रज आउन भन्ने उनको चाहाना छ भने सचिवमा बिजय बस्नेतलाई उनले ल्याउन कसरत गरेका छन् । केपीले कोषाध्यक्षमा चाहि देवकुमार श्रेष्ठ र सह–कोषाध्यक्षमा गोपालचन्द« लामिछानेलाई जिताउने डिजाईन बुनिरहेको चुनावी माहोलबाट बुझिएको छ ।

