जीवनसाथी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘अन्तराल’ यतिबेला प्रोमोशनका लागी देश दौडाहामा निस्केको छ । प्रोमोशनकै क्रममा नेपालका विभिन्न शहरहरुमा पुग्ने सेड्युल बनाएको अन्तरालको टोली शुक्रबार पोखरा आईपुगेको छ । पोखरामा अन्तराल टोलीले विभिन्न संचारमाध्यमहरुमा पुगेर फिल्मको बारेमा दर्शकहरूलाई जानकारी गराईसकेको छ भने शनिबार विहान यहाँका संचारकर्मीहरुमाझ फिल्मको बारेमा अन्तरक्रिया समेत गर्ने जनाएको छ ।
दीपा बस्नेतको डेब्यु निर्देशन रहेको फिल्म अन्तराल जेठ ३ गतेबाट देशभर एकैसाथ प्रदर्शनमा आउने क्रममा छ । दौडाहामा निस्केको टोलीमा निर्देशक बस्नेत सहित कलाकारहरु मानव सुवेदी, अशिष्मा नकर्मी, कास्टिङ डिरेक्टर जीवनसाथी बस्नेत, पब्लिसिटी डिजाईनर मनोज थापा रहेका छन् । पोखराबाट शुरु हुने दौडाहा बुटवल, चितवन, धरान, दमक, सर्लाही र हेटौँडा हुँदै काठमाण्डौमा पुगेर टुंगिने निर्देशक दिपा बस्नेतले जानकारी दिईन् ।

युवापुस्ताले देख्ने विभिन्न खाले सपना र सपना पुरा गर्नका लागी गर्नुपर्ने विभिन्न खाले संघर्षलाई फिल्ममा कलात्मक पाराले उतारिएको यो फिल्मलाई सेन्सर बोर्डले आज नै युनिभर्सल सर्टिफिकेट दिएको छ । 'फिल्मको कुनैपनि दृश्य र संवादमा सेन्सरले कैंचि चलाएन,' निर्देशक बस्नेतले भनिन्- 'हामीले फिल्म पनि कुनै आपत्ति नहुने गरि निर्माण गरेका थियौं ।'

जीन्दगी दौड हो, यो दौडमा हिम्मत नहारि दौडिरहने व्यक्ति एक दिन अवश्य सफल हुन्छ भन्ने कुरालाई प्रस्ट्याउन खोजिएको यो फिल्ममा राजकुमार पुडासैनी, अशिष्मा नकर्मी, नम्रता सापकोटा, उज्जवल शर्मा भण्डारी, अमितेश शाह, पूर्व मिस नेपाल रूवी राणा र जेशिका बोगटीको अभिनय रहेको छ । बि.बि. बस्नेत र डा. लक्ष्मीकान्त पाण्डेको निर्माण रहेको अन्तरालमा शिवराम श्रेष्ठको छायांकन तथा अभिमन्यू निरवीको लेखन रहेको यो फिल्ममा असिम चित्रकार र वुद्धरत्न महर्जनको सम्पादन एवं ग्राफिक्स रहेको छ ।


