Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सव शुरू

फिल्मीखबर, काठमाण्डौ, 2013/04/26

इन्डिजिनियस फिल्म अर्काइभ (आईएफए)ले आयोजना गरेको अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सवको सातौं संस्करण बिहीबारदेखि राजधानीमा सुरु भएको छ । 'सञ्चारमा आदिवासीहरूको समान पहुँच र सहभागिता' लाई मूल सन्देश बनाएको चार दिने महोत्सव प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा चलिरहेको छ । महोत्सवको बिहिबार राष्ट्रिय सभागृहमा उदघाटन गरियो ।



महोत्सवका लागि प्राप्त भएका २२ देशबाट ६९ फिल्म मध्ये १८ देशका फिल्म छनोट भएका छन् । यसपटक अस्ट्रेलिया, ब्राजिल, क्यानाडा, कोलम्बिया, इक्वेडर, जर्मनी, हुन्डुरस, भारत, मेक्सिको, न्युजिल्यान्ड, नर्वे, रुस, दक्षिण इथियोपिया, स्पेन, अमेरिका, ग्वाटेमाला लगायत मुलुकका फिचर फिल्म, वृत्तचित्र, एनिमेसन फिल्म तथा म्युजिक भिडियोलाई दर्शकले अवलोकन गर्न पाउनेछन् । नेपालबाट चेपाङ, धिमाल, गुरुङ, राई, लिम्बू, मगर, तामाङ, थकाली, थारू र नेवार समुदायका २३ वटा फिल्म छानिएको महोत्सव निर्देशक सन्जोग लाफा मगरले जनाए ।

 

कोलम्बियाका कार्लोस गोमेज, टीआईटीभी ताइवानबाट कुई इङ सेङ र नेपालका शशिकला मानन्धरले महोत्सवमा निर्णायकको भुमिका निर्वाह गर्दैछन् । निर्णायकले छानेका फिल्म मध्येबाट प्रथम हुनेले 'गोल्डेन ड्रम', दोस्रोले 'सिल्भर ड्रम' र तेस्रोले 'ब्रोन्ज ड्रम' पाउनेछन् । 'नेपाल पानोरमा' अन्तर्गत विभिन्न आदिवासी समुदायको प्रतिनिधित्व गरेर आएका फिल्म तथा आदिवासी फिल्मकर्मीले बनाएका नेपाली भाषाको फिल्मले प्रतिस्पर्धा गर्नेछन् । उत्कृष्ट र इन्करेजमेन्ट अवार्ड पाउनेले नगद र सम्मान पत्र पाउने छन् ।