पछिल्लो समय नेपाली फिल्म प्रति बिशेष निगरानी राख्दै आएको सेन्सर बोर्डले 'प्रोड्यूसर' फिल्मलाई भने सजिलै पास गरेको छ । बिहिबार बिहान फिल्म हेरेपश्चात सेन्सर बोर्डले यो फिल्मलाई सवै वर्गका दर्शकले हेर्न पाउने गरि युनिभर्सल (यू) सर्टिफिकेट दियो ।
'फिल्ममा आपत्ति जनाउनु पर्ने कुनै कुरा थिएन त्यसैले पनि युनिभर्सल सर्टिफिकेट पाउनेमा हामी ढुक्क थियौं,' निर्देशक जनकदीप पराजुलीले बताए । नेपाली फिल्म क्षेत्रमा निर्माताहरूको दुर्दशालाई मुख्य आधार मानेर निर्माण गरिएको फिल्म 'प्रोड्यूसर'मा मुख्यत: चार जना युवाहरू (निर्देशक, निर्माता, नायक र प्रोडक्सन म्यानेजर)ले फिल्ममा गर्नुपरेको संघर्षलाई उतारिएको बताईएको छ ।
लासो समय सञ्चारमाध्यमा अनुभव बटुल्दै सानो पर्दाको निर्देशनबाट ठूलो पर्दाको निर्देशक बनेका जनकदीपले नेपाली फिल्म निर्माणमा आउने उतारचढावलाई 'प्रोड्यूसर'मा व्यङ्गात्मक रूपले प्रस्तुत गरेको बताएका छन् । आरसी पिक्चर्स र द मिडियाज कलेक्शनको संयुक्त लगानीमा तयार भएको यो फिल्ममा बाबु बोगटी, श्याम अर्याल, विल्सन विक्रम राई, श्वेता भट्टराई, श्याम राई र नवप्रस्तुतीको रूपमा पायल रायमाझीले अभिनय गरेका छन् । फिल्मका प्रस्तुतकर्ता ज्योतीराज राई हुन् ।
साउन महिनामा रिलिज गर्ने योजना बनाईएको यो फिल्ममा सागर प्रधानको छायांकन, किरण माइकलको लेखन, रोशन श्रेष्ठको द्धन्दनिर्देशन, राहुल प्रधान, सुरेश राई, किरण माइकलको संगीत तथा प्रज्वललित पराजुलीको सम्पादन रहेको छ ।

