फिल्म च्यालेन्जको नायक तथा निर्माता रेश मरहठ्ठा र सम्पादक सिमोस सुनुवार विचको बिबाद साम्य भएको छ । ७ लाख क्षतिपूर्ती सहित १५ दिन भित्रमा बाँकि काम सक्ने गरि सोमबार हनुमान ढोका स्थित महानगरिय प्रभागमा सिमोस र रेश विच सहमति भएको हो ।
सुटिङ सकिएको तीन बर्ष सम्म पनि हिरो रेश मरहठ्ठको फिल्म च्यालेन्जको महत्वपूर्ण पोष्टप्रोडक्सन कार्य नसकिदिएपछि सिमोसलाई निर्देशक समाज सहित निर्माता संघबाट गएको उजुरीको आधारमा प्रहरीले आईतवार पक्राउ गरि हनुमानढोका पुर्याएको थियो । हनुमानढोकाका प्रहरी नायव उपरीक्षक रमेश कुमार बस्नेत सहित निर्माता संघका अध्यक्ष राजकुमार राई, महासचिव केशव भट्टराई र सचिव सुरेश दर्पण पोखरेलको उपस्थितीमा रेश र सिमोसको बिबादलाई साम्य पारिएको हो ।
फिल्मको सम्पादन तथा ग्राफिक्सको काम गर्नका लागि ६ लाख रूपैंया पारिश्रमिक लिएका सिमोसले समयमा काम नसकिदिंदा निर्माता रेशलाई क्षतिपूर्ती स्वरूप ७ लाख रूपैंया तीन महिना भित्रमा पाँच किस्ता गरेर बुझाउने र बाँकी रहेको पोष्टको काम १५ दिन भित्रमा सक्ने गरि सहमती गरे । सिमोसले दिने ७ लाख क्षतिपूर्ती मध्ये २ लाख रूपैंया भने निर्देशक श्याम भट्टराईलाई दिईने भएको छ ।
निर्देशक श्यामले आफ्नो पारिश्रमिकको रूपमा १० लाख रूपैंया बराबरको डिभिडी राईट लिएका थिए । फिल्म तीन बर्षसम्म रिलिज नहुँदा आफ्नो पारिश्रमिक समयमा पाउन नसकेपछि श्यामले निर्माता बिरूद्ध निर्देशक समाजमा उजुरी हालेका थिए । सोही दबाबले गर्दा पनि निर्माता रेशले सिमोस बिरूद्ध उजुरी हाल्न बाध्य भएका हुन् ।

