Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 4.00/5.00)
Text size:-
+
-

कर्कशका पात्रहरूको भित्री कथा

फिल्मीखबर, काठमाण्डौ, 2013/04/22

कर्कश फिल्म आउँदो जेठ ३१ गते रिलिज हुँदैछ । रिलिजसम्ममा आइपुग्दा कर्कश र यसको निर्माणका थुप्रै पक्षहरूमा केही रमाइला घटनाहरू घटिसकेका छन् । एक ब्यान्डको कथामा आधारित रहेर निर्माण गरिएको कर्कश फिल्ममा ड्रमरको भूमिकामा देखा परेका दयाहाङ राई भन्छन्- 'यो फिल्मको निर्माणका बेलाका कथाहरू समेट्यो भने त छुट्टै अर्को फिल्म नै बन्छ।' के-कस्ता रमाइला पक्ष छन् त कर्कशको पर्दा पछाडि ? त्यसैको विषयमा छोटो चर्चा -


फिल्मको स्क्रिप्ट लेखिँदा नै पात्र अनुसारको कलाकार भनेर सत्यराज आचार्य तथा राजेन्द्र खड्‍गीलाई लेखक तथा निर्देशक आशिफ शाहले सोचिसकेका थिए । गायक तथा अभिनेता सत्यराज आचार्यले आफ्ना मित्र आशिफ शाहका लागि 'प्रभात'को भूमिका खेल्न सहर्ष स्वीकार गरे । तर कर्कशको निर्माण पक्षलाई 'बगरे'को पात्रका रूपमा राजेन्द्र खड्‍गी जस्ता वरिष्ठ कलाकारलाई कसरी साइन गर्ने भन्ने मर्का परेको थियो । बिरालाको घाँटीमा कसले घण्टी बाँध्ने समस्या परेको बेला डिसिएनका अध्यक्ष अशोक शर्माले यो कार्यलाई सहज बनाइदिए । अशोक शर्माको पहलमा नै कर्कशमा राजेन्द्र खड्‍गीले 'त्रिकाल खड्‍गी' को भूमिका निर्वाह गरे ।


विभिन्न वरिष्ठ निर्देशकहरू, निर्माताहरू तथा अन्य फिल्मकर्मीहरूको आग्रह तथा जतिसुकै रकममा पनि अभिनयलाई नाइँ भन्दै आएका भिजे सुरज सिंह ठकुरीको पनि आबद्धताको कथा रोचक छ । कर्कशको निर्माण कम्पनी ए जी टुवान प्रोडक्सनले निर्माण गर्दै गरेको एउटा लघु फिल्म खिच्ने क्रममा एउटा धाराको सिन देखेर ठकुरीले 'म पनि तिमीहरूलाई मद्दत गर्न सक्छु' भनेका थिए । पछि निर्माता असीम शाह तथा निर्देशक शाहले मित्रता दिवसकै दिन पारेर सुरज सिंह ठकुरीलाई उनको मद्दतका रूपमा अभिनय गर्ने प्रतिबद्धता प्राप्त गरे । आफ्ना साथीको आग्रहलाई नकार्न नसकेपछि ठकुरीले यो फिल्मको अभिनय आफ्नी छोरीका निमित्त समर्पित गरेको कुरा सुनाए ।


रेमनदास श्रेष्ठ तथा दयाहाङ राई कर्कशसँग आबद्ध हुनुमा संयोगको कथा छ । फिल्ममा 'एण्डी'को पात्र निर्वाह गर्ने दयाहाङ राईलाई आशिफ शाहले मैतिदेवीमा चिया खाँदै बसेको बेला 'यो पात्रमा दयाहाङ राई भइदिए हुन्थ्यो' भनेर सोच्नु र दयाहाङ त्यही बेला नै भेटिनु संयोगको कुरा भएको शाह सुनाउँछन् । त्यसै गरी रेमनदास श्रेष्ठको स्वामित्व रहेको एटिक बारमा बसेको बेला आफ्ना एक मित्रलाई आशिफ शाहले 'मलाई गिटार बजाउन जान्ने एक जना कलाकार चाहिएको छ' भन्दा रेमनले त्यही बेला गिटार बजाउँदै गरेको शाहले फेला पारेका थिए ।


यस्तै कथा फिल्मका आबद्ध अन्य कलाकारको पनि छ । अभिनेत्री लुनिभा तुलाधर कर्कश फिल्मको वर्कसप सञ्चालिका थिइन् र वर्कसपकै क्रममा फिल्ममा आबद्ध भएकी थिइन् । रोचक कथा नायिका हर्षिका श्रेष्ठको पनि छ । उनी फिल्मको सुटिङ सुरू हुनुभन्दा २४ घण्टा अगाडि मात्र आबद्ध भएकी थिइन् । त्यसै गरी प्रहरीको पात्रका रूपमा आबद्ध भएका राजन ईशान गायक तथा कम्पोजरका रूपमा चर्चित छन् । तर, ए जि टुवान प्रोडक्सनको विज्ञापन तथा डकुमेन्ट्री निर्माणका क्रममा उनको अभिनयको हुनर देखेर निर्देशक शाहले उनलाई आबद्ध गराएका हुन् ।

 

पात्र चयनमा भएका यि कथा जति रोचक छन् फिल्म पनि त्यतिनै रोचक बनेको निर्देशक शाहको दाबि छ । उनी भन्छन्- 'निकै मेहनत गरेर फिल्म बनाएका छौं र फिल्म पनि निकै राम्रो बनेको छ । अब रूचाउने नरूचाउने दर्शकको हातमा ।' आ-आफ्नै स्थानमा पकड जमाएर बसेका यि स्टारहरूको जमघट रहेको फिल्म 'कर्कश'ले नेपाली फिल्म उधोगमा केहि नयाँ कुरा दिनेछ भन्ने आश गरिएको छ ।