प्रख्यात साहित्यकार पारिजातद्धारा लिखित उपन्यास 'शिरीषको फूल' माथि निर्माण भएको फिल्म 'शिरीषको फूल' अब प्रदर्शनमा आउने भएको छ । आगामी वैशाख २० गतेका दिन प्रदर्शनमा ल्याउने डेट पाएको यो फिल्मको निर्देशन जापानी नागरीक डा.तोशिआकि ईतोले गरेका हुन् भने उनलाई सह–निर्देशकका रुपमा विजयरत्न तुलाधर र देशभक्त खनालले सघाएका छन् ।
युद्ध भुमिबाट भागेर आएका भगौडा सैनिकको नारी प्रतिको दृष्टिकोण र एक निस्सारवादी युवतीको जीवन कथालाई मर्मश्पर्सी ढंगबाट चित्रण गरिएको उपन्यासमा आधारित यो फिल्मलाई च्यारिटी गर्दा धेरैले रूचाएको सहनिर्देशक तुलाधरले बताए । साहित्यकार एवं बुद्धिजिवीहरुले विश्वविद्यालयको पाठ्यक्रमा समेत समावेश गरिएको कृतिमाथि बनेकोले गर्दा यसको दर्शक संख्या असीमित हुने कुरामा आफु विश्वस्त रहेको कुरा पनि उनले बताए ।
अमेरिकाको मेरिल्याण्ड विश्व विद्यालयको पाठ्यक्रममा समेत समावेश ‘शिरिषको फूल’ को कथामा दोस्रो बिश्व युद्धबाट भागेको सिपाही सुयोगवीर तथा मध्यम वर्गीय परिवारका शाकम्बरी, मजुरा मुख्य पात्रको रूपमा छन् । जसमा गणेश लामा सुयोगवीरको, शर्मिला गुरुङ शाकम्बरीको र सौजन्य सुब्बा मुजुराको भूमिकाका छन् । जमिन फिल्मस्को सहकार्यमा फिल्म क्रियशन नेपालले निर्माण गरेको सो फिल्ममा अप्सरा कार्की, बसुन्धरा भुषाल, श्याम राई, जगत राजथला, गोपाल भुटानी, लक्ष्मी भुषाल, सन्तोष लामा, गणेश मुनाल, इन्दिरा गोले गुरुङ लगायतको पनि अभिनय रहेको छ ।

