विश्वव्यापीकरणले हाम्रो जस्तो अल्पविकसित मुलुकका मध्यम र निम्न वर्गीय ग्रामिण र सहरी समाजमा कसरी नकरात्मक प्रभाव पारेको छ त भन्ने विषयलाई उठान गरेर निर्माण गरिएको फिल्म 'बनफूल'को फस्टलुक रिलिज गरिएको छ ।
'दूर दराजमा रहेको एउटा शिल्पी, जो विश्वबजार अर्थतन्त्रमा प्रवेश गर्न चाहँदैन, जसले निर्माण गरेका कलालाई विश्व बजारमा पैसा कमाउने ब्यापारिक सामग्री बनाउन चाहँदैन, त्यसै कारण उसले झेल्ने र भोग्ने विभिन्न पारिवारिक झमेलालाई फिल्मको कथाबस्तु बनाईएको छ,' शैली थिएटरको लामो अनुभव पश्चात पहिलो पटक निर्देशक बनेका नवराज बुढाथोकीले फस्टलुक रिलिज गरेसँगै भने- 'सुविधा सम्पन्न शहरमा बस्ने एक मानिस किन दुःखी हुन्छ र शारिरीक श्रममा व्यस्त हुने ग्रामिण भेगका मानिसले किन सुखको महसुस गर्छन् भन्ने भिन्नतलाई फिल्म मार्फत देखाउन खोजिएको छ ।'
जेठ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'अन्तराल'लाई निर्माण गरेको जीवनसाथी फिल्म्ससँग शैली थिएटरले सहकार्य गरेर निर्माण गरेको यस फिल्ममा सुनिल पोखरेल, महेश श्रेष्ठ, मञ्जु देवकोटा, मदन बराल, समन्त आचार्य, अशोक शिवाकोटी, वासुदेव खनाल, मञ्जु गिरी, केदार श्रेष्ठ, विभु पौडेल, सुशिला रिमाल लगायतले अभिनय गरेका छन् ।
मदन बराल र बीबी बस्नेत निर्माता रहेको वनफूलमा निर्देशक बुढथोकीको पटकथा तथा संवाद, देवेन्द्र राईको संगीत, राजिव मानन्धरको छायाँकन, चन्दन दत्तको सम्पादन तथा ग्राफिक्स र महेश पौड्यालको कथा रहेको छ । फिल्मको रिलिज मिती भने अन्तराल प्रदर्शनमा आएपश्चात मात्र टुंगो लाग्ने निर्माण युनिटले जानकारी गरायो ।

