फिल्मको मर्म नबुझी सामान्य दृश्यमा पनि सेन्सर बोर्डले कैंचि चलाउन थालेपछि फिल्मकर्मीले सेन्सर बोर्डका सदस्य प्रति आक्रोश पोख्न थालेका छन् । आईतवार फिल्म मञ्जरी युनिटले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपस्थित फिल्मकर्मीले सेन्सर बोर्डले अनावश्यक दु:ख दिन थालेको भन्दै आक्रोश पोखेका हुन् ।
सेन्सरले कैंची चलाएको मञ्जरी फिल्मका तीन दृश्य हेरेपश्चात निर्माता संघका अध्यक्ष राजकुमार राईले फिल्म नबुझेका व्यक्ति सेन्सरमा भएकाले आफूहरूले अनावश्यक दु:ख सहनु परेको बताए । उनले भने- 'मञ्जरीमा सेन्सरले आपत्ति जनाएको दृश्य काट्नु पर्ने नै देखिन्न । यस्ता दृश्य पनि काट्न थाल्ने हो भने कस्तो फिल्म बनाउने त ?
यस्तै डिजिटल सिनेमा नेपालका प्रबन्ध निर्देशक तथा फिल्मकर्मी अशोक शर्माले पनि मञ्जरीका तीन दृश्यमा सेन्सरले कैंची लगाएको प्रति आपत्ति जनाए । 'यो त सरासर फिल्म माथिको ठाडो हस्तक्षप हो,' शर्माले भने- 'जबसम्म सेन्सरको बिषयमा ठोस नीति नियम बन्दैन तबसम्म यस्तो समस्या हामीले झेल्नुपर्छ ।' यस्तै विकास बोर्डका सदस्य विकास आचार्यले पनि सेन्सरको निर्णय सान्दर्भिक नरहेको बताउँदै बोर्ड सदस्यको नाताले सेन्सर बोर्डका पदाधिकारीसँग छलफल गरेर एउटा निकास दिने बताए ।
फिल्मका निर्माता प्रदीप उदयले सेन्सरले अनावश्यक दु:ख दिएको बताउँदै उपस्थित फिल्मकर्मी तथा सञ्चारकर्मी समक्ष न्यायका लागि आवाज उठाईदिन आग्रह गरे । निर्देशक गणेश देव पाण्डेले सेन्सरले आपत्ति जनाएको दृश्य कुनैपनि हालतमा नकाट्ने बताए । उनले भने- 'यहि यो दृश्य काट्न पर्छ भने म कानुनी उपचार पनि खोज्ने छु ।' सेन्सरले बच्चाले चियाको गिलासमा थुकेको, पछाडी फर्केर पिसाब फेरेको र नायक गौरव पहारीलाई कुटेको दृश्यमा आपत्ती जनाएको हो ।
गौरव पहारी, सुजाता कोईराला, टिका पहारीको मुख्य अभिनय रहेको यो फिल्म यहि बैशाख २० गतेबाट प्रदर्शनमा आउने छ । कालिप्रसाद बाँस्कोटाले तयार पारेको फिल्मका गीतसंगीत अहिले निकै चर्चामा छन् ।

