Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

पहिचानका लागि तामाङ फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2013/04/21

वैशाख १२ गतेबाट राजधानीमा सुरु हुने ७ औं अर्न्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सव पारेर पहिचान थिममा बनाइएका दुई वटा तामाङ फिल्म 'नालिस' र 'ल्हाप्साङकर्पो'को प्रिमियर हुने भएको छ ।


जेनिश दोङले निर्माण गरेको फिल्म नालिसले आधुनिकताको नाममा आफ्ना छोराछोरीलाई आफ्नो भाषा र संस्कृतिबाट विमुख गराएर उनीहरुले आफ्ना छोरछोरीहरुको पहिचान खोस्ने मात्र नभई उनीहरुको मानव अधिकारको समेत हनन् गरिरहेको छ भन्ने कुरालाई प्रमुख रुपमा उठान गरेको छ । यो प्रवृत्तिले भविष्यमा देखिने द्धन्द्धका बारे पनि सचेत गराउने प्रयास गरिएको निर्देशक दीपेन्द्र दोङ तामाङले बताए । फिल्ममा चाँदनी मोक्तान, गणेश लामा, किशा थोकर, जंगे लामा, विमला जिम्बा, निशा ग्लान लगायतका कलाकारहरुको अभिनय रहेको छ ।



यसै गरी अर्को फिल्म ल्हाप्साङकर्पोमा भने धादिङ, नुवाकोट, रसुवा र सिन्धुपाल्चोकका केही क्षेत्र समेटिने ल्हाप्साङकर्पो क्षेत्रमा बसोबास गर्ने तामाङ समुदायको जीवनशैली प्रस्तुत गरिएको छ । फिल्ममा ल्हाप्साङकर्पोको तामाङहरुको पुर्ख्यौली पेशा र त्यहाँका तामाङहरुको वर्तमान जीवनशैलीलाई निकै सुन्दर ढंगबाट प्रस्तुत गरिएको निर्माण पक्षले दाबी गरेको छ । साथै त्यहाँको पूरानो पेशा पशुपालन अन्तर्गत भेंडाको बथान र गोठालोको जीवन कहानीलाई पनि हुबहु उतारिएको छ ।

 

आफ्नो किल्लाबाट अरुको किल्लामा गोठ सार्दा कर तिर्नु पर्ने पूरानो प्रचलन र हिमालको काखमा भेडा बाख्रा चराउदा चराउदै गोठालोलाई आफ्नो देश र आफू हुर्केको ठांउको माया र चिन्ता लाग्ने सन्दर्भलाई पनि ल्हाप्साङकर्पोले समेटेको छ । जम्बुलिङ फिल्मस्का लागि ल्हाप्साङकर्पो म्यूजिक प्रालिले प्रस्तुत गरेको यस फिल्मका लेखक तथा निर्देशक रोशन फ्युबा संगुल हुन् । धादिङको दुर्गम तर रमणीय क्षेत्र गणेश हिमालसम्म पुगेर छाँयाँकन गरिएको यस फिल्ममा म्हारमेन वाइबा, कान्छा लामा, राज वाइबा, छारमाया तामाङ लगायतको अभिनय रहेको छ ।