जेष्ठ ३बाट देशभर एक साथ प्रदर्शनमा आउने क्रममा रहेको फिल्म 'अन्तराल' सफल हुने निर्माता बि.बि. बस्नेतले दाबी गरेका छन् । पुर्वको इटहरीलाई कर्मक्षेत्र बनाएर फिल्म निर्माणमा समेत सक्रिय भएका बस्नेत अब निरन्तर उत्कृष्ट फिल्म निर्माण र फिल्मसंग सम्बन्धित अन्य काममा ब्यस्त हुने जानकारी गराए ।
पूर्वमा रहेर नै फिल्मको प्रमोशनमा जुटिरहेका बस्नेत धरानको स्थानीय दन्तकाली एफएमको फिल्मी कार्यक्रममा कुराकानी गर्दै सम्पूर्ण टिमले अन्तराललाई उत्कृष्ट बनाएको उनले बताए । आफ्नै छोराको नाममा जीवनसाथी फिल्मस्को ब्यानरमा फिल्म निर्माण गरेको बताउदै छोराको कलाकारितामा लाग्ने तिब्र इच्छालाई सम्मान समेत गरेको उनले बताए ।
त्यसो त फिल्मबाट निर्देशनमा डेब्यु गरेकी दीपा बस्नेत निर्माता बस्नेतको बुहारी हुन् । थुप्रै नाटकमा अभिनय र म्युजिक भिडियोको निर्देशन पश्चात दीपाले यसै फिल्मबाट निर्देशनमा डेब्यू गरेकी हुन् । पारिवारिक रुपमा नै फिल्म बनाएको हुनाले फिल्म पारिवारिक र संदेश मूलक बनेको उनको दाबी थियो । नयाँ कलाकारलाई लिएर फिल्म बनाए पनि आफुलाई कुनै डर नभएको बताउदै सम्पूर्ण कलाकारले राम्रो गरेको र फिल्मको कन्टेन्ट नै बलियो भएकोले आफ्नो लगानी सेफ हुने उनले बताए ।
ग्रामिण भेगबाट थुप्रै सपना बोकेर फरक समुदायबाट फरक उद्देश्य बोकी शहर पसेका छ जना युवाहरूको संघर्षको कथालाई मुख्य बिषय बनाएको फिल्म 'अन्तराल'मा कमलमणी नेपाल, राजकुमार पुडासैनी, नम्रता सापकोटा, मानव सुवेदी, अशिष्मा नकर्मी, घनुभाइ जोशी, लोकेन्द्र लेखक, उज्जवल शर्मा भण्डारी, अमितेश शाह र जेशिका बोगटीको साथमा पूर्व मिस नेपाल रूवी राणाको अभिनय रहेको छ ।
अन्तरालमा शशि विक्रम थापाको संगीत, शिवराम श्रेष्ठको छायांकन तथा अभिमन्यू निरवीको लेखन रहेको यो फिल्ममा असिम चित्रकार र वुद्धरत्न महर्जनको सम्पादन एवं ग्राफिक्स रहेको छ । जीवन कार्की, अशोक शिवाकोटी, दीपा बस्नेत, तिर्थ दावाली भाई र अभिमन्यू निरवीको गीतमा मनिषा पोखरेल, मानव सुवेदी, शशिबिक्रम थापा र विकासले स्वर दिएका छन् । नरेन्द्र महर्जनले वितरण गर्ने यो फिल्मका अर्का निर्माता डा. लक्ष्मीकान्त पाण्डे हुन् ।

