एक बर्ष नपुग्दै विमल पौडेलको नेतृत्वमा उतार चढाव आएपछि भताभुङ्ग भएको चलचित्र निर्देशक समाजको कार्यसमितिलाई हटाउदै नयाँ कार्यसमिति निर्माणका लागि निर्देशक समाजको विशेष साधारणसभा सम्पन्न भएको छ ।

चाबहिल स्थित चलचित्र बिकास बोर्डमा सम्पन्न भएको विशेष साधारण सभाले आगामी वैशाख १४ गते शनिबारका दिनलाई नयाँ नेतृत्व चयन गर्ने गरी चुनावी मिति घोषणा गरेको छ । भावी अध्यक्षको रुपमा दिनेश डिसी र नरेश पौडेल दुई प्यानल देखिएका बेला शनिबारको विशेष साधारणसभाले पूर्व अध्यक्ष केपी पाठकको संयोजकत्वमा सम्पन्न हुने गरि नयाँ निर्वाचन मिति घोषणा गरेको हो ।
अध्यक्षका लागि मैदानमा उत्रन लागेका निर्देशक दिनेश डिसीले निर्देशक समाजलाई आर्थिक रुपमा सक्षम बनाउने, बिगतका झैं आगामी बर्षमा पनि बिभिन्न राष्ट्रिय तथा अर्न्तराष्ट्रिय गोष्ठी तथा कार्यशाला गर्ने, अर्न्तराष्ट्रिय बजारमा फिल्म प्रदर्शनको लागि सहज वातावरण सृजना गर्ने, कलाकारहरुलाई राज्यका विभिन्न क्षेत्रमा सहुलियतका लागी पहल गर्ने लगायतका एजेन्डा ल्याएका छन् ।

यस्तै अर्का प्रतिद्धन्दी निर्देशक नरेश पौडेलले पनि निर्देशक समाजको प्रतिष्ठालाई उच्च राख्ने, विगतका कार्यसमितीले गर्न नसकेका कार्यलाई आफूले पूरा गर्ने र सर्जकहरूलाई सम्मान गर्ने जस्ता एजेण्डा ल्याएका छन् । निर्देशक पौडेल पूर्व अध्यक्ष केपी पाठकसँगको प्रतिष्पर्धामा हार बेहोरेका थिए र सो हारको बदला यसपटक निर्देशक डिसीसँग लिने तयारी उनको छ ।
साधारण सभामा गत मंसिरमा लमजुङको घले गाँउमा आयोजना गरिएको वर्कसपमा सहभागीहरुलाई प्रमाणपत्र वितरणको साथमा उत्कृष्ट भएको सर्ट फिल्म मन्सरीको टिमलाई पुरस्कार वितरण गरिएको छ ।

