पोखरामा महिनामा करिब २५ देखि ३० वटा म्युजिक भिडियोहरु निर्माण हुन्छन् । यहाँका विभिन्न प्रोडक्सन हाउसहरुले म्युजिक भिडियोहरु बनाईरहेका हुन्छन् । कहिले गाउँका गीत, कहिले पप रक गीत त कहिले आधुनिक गीतहरुको म्युजिक भिडियो बन्ने क्रम पोखरामा बाक्लै हुने गर्छ । प्राकृतिक सुन्दरताका कारण फिल्मको सुटिङ भन्दा पनि धेरै पोखरामा भिडियो बनाउनका लागी गायकगायिकाहरु लालायित हुने भएकोले यहाँका निर्देशकहरु व्यस्त नै हुने गर्छन् ।
यत्तिका संख्यामा म्युजिक भिडियोहरु बन्ने भएपनि पोखराबाट बनेका म्युजिक भिडियोहरु भने राष्ट्रिय स्तरका टेलिभिजन च्यानलमा आक्कलझुक्कल मात्रै देखिन्छन् । त्यसो त यहाँकै केबल च्यानलहरुमा पनि त्यति सार्हो भिडियोहरु बजेको पाँईदैन । आखिर कहाँ जान्छन् त बनिसकेका म्युजिक भिडियो पनि ? शायद संग्राहलयमा संग्रहित गरेर राखिन्छ होला । भिडियो रिलिज नहुने भएकै कारणले यहाँका कलाकारहरु राष्ट्रियस्तरमा परिचित हुन सकेका छैनन् । त्यस्तै भिडियो बनाएर पनि मेकर्सहरुले झुलाउने कारणले आफुहरुले गीतको प्रोमोशन पनि गर्न नपाएको गायकगायिकाहरु बताउँछन् ।
त्यसो त आफैले बनाएका म्युजिक भिडियोलाई संग्राहलयमा थन्काउने रहर त पक्कै पनि निर्देशकहरुलाई पनि हुन्न होला । तर किन फेरी म्युजिक भिडियोहरुलाई अन्डरग्राउन्ड नै राखिन्छ त ? ‘यो सबै काठमाण्डौले मोफसललाई हेर्ने नजरको कमजोरी हो,’ द ब्ल्याक स्याडो प्रोडक्सनको नामबाट म्युजिक भिडियो निर्माण गर्दै आएका निर्देशक नेत्र गुरुङ भन्छन्–‘त्यसैमाथि म्युजिक भिडियो निर्माण गरेपछि आफै बज्छ भन्ने निर्माताहरुको सोँच पनि यसैसंग जोडिएर आउँछ ।’ राष्ट्रियस्तरका च्यानलहरुमा भिडियो बजाउनका लागी पोखराबाट काठमाण्डौ पुग्नुपर्ने बाध्यता हुने भएकोले पनि यहाँ बन्ने भिडियोहरु स्थानिय च्यानलमा मात्रै सिमित बन्न पुगेको उनले सुनाए ।

पोखरामा नेत्र गुरुङसंगै जसु गुरुङ, जितेश प्रधान, श्रीकान्त सिग्देल, दीपेन्द्र श्रेष्ठ, कृष्णकुमार गुरुङ, माओत्से गुरुङ, युग गुरुङ, सर्वज्ञमान शाक्य, मिलन केसी, विराज पिपी लगाएतका म्युजिक भिडियो निर्देशकहरु क्रियाशिल छन् । त्यतिकै मात्रामा यहाँ म्युजिक भिडियोलाई करिअर सम्झिएर लागिपरेका टेक्निशियन र कलाकारहरु पनि छन् । म्युजिक भिडियो पनि बन्छन् तर प्रचारप्रसार अभावमा निर्देशक देखि लिएर कलाकार सबै पोखरामा मात्रै सिमित बनिरहेका छन् ।
उता काठमाण्डौका एक टेलिभिजन च्यानलका प्रस्तोताले भने गुणस्तरिय म्युजिक भिडियोहरु च्यानलसम्म ल्याएको खण्डमा नेपालको जुनसुकै स्थानबाट ल्याएको भिडियो पनि बजाईने जानकारी दिए । ‘काठमाण्डौ बाहिर बनेका धेरैजसो म्युजिक भिडियोहरु गुणस्तरिय हुँदैनन्,’ ती प्रस्तोताले भने–‘यदि गुणस्तरिय भएको खण्डमा च्यानलमा बज्नका लागी कसैले रोक्दैन ।’
पोखराबाट राष्ट्रिय स्तरका च्यानलमा भिडियो धेरै भिडियो बजाउने द ब्ल्याक स्याडो प्रोडक्शन भएको यस प्रोडक्सन हाउसका सदस्य दीपेन्द्र श्रेष्ठ दावी गर्छन् । ‘च्यानलका मान्छेहरु गीत बजाउनका लागी पनि आर्थिक प्रलोभनमा फँस्छन्, उनीहरुलाई केहि न केहि खुलाउनै पर्ने हुन्छ,’ उनी भन्छन्–‘तर जुन गायकगायिकाको म्युजिक भिडियो हो उसले भिडियो बजाउनका लागी पैसा उपलब्ध गराउन हिच्किचाउँछन् अझै कोहि कोहि त म्युजिक भिडियो नै उधारोमा बनाएर बेपत्ता हुन्छन् ।’

