ट्युनिसियाको ह्यामामेटमा सम्पन्न भएको अर्न्तराष्ट्रिय फिल्म सोसाइटी महासंघ (आइएफएफएस)को साधारणसभामा कार्यसमिति चयनका लागि भएको निर्वाचनबाट नेपाली फिल्मकर्मी राजेश गोंगजु सचिवमा निर्वाचित भएका छन् । महासंघको अध्यक्षमा ब्राजिलका एन्टोनियो क्लाउडिनो र महासचिवमा स्पेनका हुलियो लुमानिया निर्वाचित भए ।
२०१३ अप्रिल १ मा सुरु भएर ७ मा सम्पन्न भएको सो साधारणसभामा ८० भन्दा बढी फिल्म सोसाइटी, महासंघ, संघहरुका प्रतिनिधि तथा फिल्म सम्बन्धी प्राध्यापकहरुको सहभागिता थियो । अर्न्तराष्ट्रिय फिल्म सोसाइटी महासंघको स्थापना सन् १९४७ मा फ्रान्सको कान्समा भएको हो । यस महासंघ स्थापना गर्दा विशेषगरी युरोपेली देशहरुको सहभागिता भएपनि हाल आएर पाँचै महादेशका फिल्म सोसाइटीहरुको सहभागिता छ ।
यस महासंघले फिल्म कलाको एउटा पाटो हो भन्ने धारणा स्थापित गर्नका लागि ६ दशकदेखि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । त्यसको साथसाथै साँस्कृतिक विकेन्द्रीकरणको साथमा समाज रुपान्तरणका निम्ति फिल्मलाई विशेष सँस्कतिको रुपमा स्थापित गर्नमा आइएफएफएसको उल्लेखनीय योगदान रहेको छ । नेपालमा पनि २ दशक अघिदेखि फिल्म सोसाइटी मार्फत फिल्म अभियान थालनी भएको हो । आइएफएफएसको सचिवमा निर्वाचित भएका राजेश गोंगजुकै नेतत्वमा सन् १९९५ मा नेपालमा काठमाडौं फिल्म सोसाइटी स्थापना गरी फिल्म सोसाइटी अभियान थालिएको हो ।
आइएफएफएसमा निर्वाचित भएपछि गोंगजुले नेपालमा फिल्म सोसाइटी सँस्कृति स्थापित गर्न अझै धेरै कामहरु गर्न बाँकी रहेको बताए । गोंगजुले थपे- 'आएएफएफएस अर्थात् विश्वका फिल्म सोसाइटीहरुको छाता संगठनको सचिवमा निर्वाचित भइसकेपछि नेपाली फिल्म अब विश्वको गहिरो निगरानी परेको छ । तर म नेपालमा फिल्म सोसाइटी अभियानले गति लिनेमा विश्वस्त छु ।'

भारतमा पहिलोपटक सत्यजित रेले सन् १९४७ मा कतकत्ता फिल्म सोसाइटी स्थापना गरेका थिए । त्यसअघि नै श्रीलंकाले यस खालको अभियान चलाइसकेको थियो । यी देशहरुमा फिल्म सोसाइटी अभियानले धेरै विश्वस्तरीय फिल्ममेकरहरु जन्माउनमा अहम भूमिका निर्वाह गरेको छ ।
डकुमेन्ट्री फिल्म होस वा सर्ट फिल्महरु केही राम्रा बनेपनि बजार व्यवस्थापन नहुँदा केही फिल्म फेस्टिभलहरुमा मात्र सिमित रहन बाध्य छन् । तर अब केन्द्रीय कार्यालय स्पेनमा रहेको अर्न्तराष्ट्रिय गैरनाफामुखी वितरण फोरम सिनेसुडमा नेपाली फिल्मको छुट्टै क्याटलग बन्ने भएको छ । जसले गर्दा राम्रा नेपाली फिल्महरु विश्वका फिल्म सोसाइटी, एकेडेमिक सेन्टर र फिल्म फोरमहरुमा प्रदर्शन गर्न बाटो खुलेको छ । 'क्याटलगमा पर्न सफल हुने नेपाली फिल्महरुले प्रत्येक पटकको प्रदर्शन वापत ७५ युरो रोयल्टी पाउनेछन्,' गोंगजुले भने- 'यसको सञ्चालन नेपालमा फेडेरेसन फिल्म सोइटी अफ नेपालले गर्नेछ ।'
यसको साथसाथमा आएफएफएसबाट सञ्चालित विश्वका २५ अर्न्तराष्ट्रिय फिल्म फेस्टिभलहरुमा प्रदान गरिने डन किहटे अवार्डको लागि नेपालबाट पनि वर्षमा चार (४) जना निर्णयक (जुरी) पठाउने समझदारी भएको छ । तर ती निर्णयकहरु फेडेरेसन अफ फिल्म सोसाइटी अफ नेपाल अन्तर्गतका कुनै पनि फिल्म सोसाइटीको सदस्य हुनुपर्नेछ ।

