Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

भोजपुरीका `बब्बाल` हिरो

रेम बिक, पोखरा, 2013/04/19

घुम्रिएको लामो कपाल, अनुहारलाई नै फोहोरी देखाउनेगरि पालेको दार्‍ही, होचो कद त्यसैमाथि प्याट्ट अगाडी निस्किएको पेट । कुनै कोणबाट हेर्दा पनि निरजराज पौडेललाई एउटा फिल्मको हिरो जस्तो लाग्दैन । बलिउड र नेपाली फिल्मका हेर्दै रहर लाग्दा हिरोहरुको अगाडी उनलाई कसले पो हिरो मान्न सक्थ्यो र ? तर, उनको प्रतिभा चिन्नेले उनलाई हिरो होईन भनेर सुखै पाउँदैन । पाओस् पनि कसरी ? यस्तै डल्ले र हेर्दै नराम्रो निरजराज पौडेलले अहिले भोजपुरी फिल्मको बजार तताईरहेका छन् ।

‘भोजपुरी फिल्ममा टिमिक्क ज्यान मिलेको, सफाचट अनुहार भएको मान्छेलाई दर्शकले मनै पराउँदैनन्,’ नेपाली र भोजपुरी दुवै भाषामा एकैचोटी बनेको फिल्म ‘बब्बाल’को प्रोमोशनको क्रममा पोखरा आईपुगेका यी डल्ले हिरोले आफ्नो हुलिया प्रति देखाएको चासोलाई खुलस्त पार्दै भने–‘आफ्नो परिवेश अनुसारकै हुलिया, बोलिचाली र चालढाल भोजपुरी फिल्मको दर्शकहरुको आकर्षणमा पर्छ, त्यसैले म पनि त्यस्तै भएको ।’ भोजपुरी फिल्मका दर्शकहरुकै लागी भएपनि आफु सफाचट र स्मार्ट भएर नहिँडेको उनले बताए ।

 



त्यसो त भोजपुरी फिल्ममा एक्टिङ गरेकै भरमा टिक्न पनि गार्‍हो छ । भोजपुरी फिल्मका दर्शकहरुको पहिलो रोजाईमा त्यस क्षेत्रका गायक पर्ने गर्छन् । विशेष गरि कमेडीयन रोलका कारण भोजपुरी फिल्मका लागी पहिलो रोजाईमा पर्ने यी डल्ले नायकले पनि गीत गाउँछन् र संगीत पनि दिन्छन् । उनले अहिलेसम्म ४ वटा भोजपुरी फिल्ममा संगीत दिएका छन् भने ३० भन्दा बढि गीतहरु गाईसकेका छन् । त्यतिकै मात्रामा उनले फिल्ममा पनि अभिनयकला देखाएका छन् । ‘भोजपुरी फिल्मको मार्केटमा धानिनको लागी यी सबै अत्यावश्यक कुराहरु हुन्,’ गफिने क्रममा निरजराजले जोडे–‘त्यसैले म पनि त्यताको मार्केटको विकाऊको चिज बन्न सकेको हुँ ।’

 



नेपालको जनकपुर स्थायी घर भएका यी कमेडियन हिरो प्लस गायक भोजपुरी फिल्मकी सुपरएक्ट्रेस रानी चटर्जीसंगको रोमान्सका कारण पनि भोजपुरी फिल्म उद्योगमा चर्चामा छन् । सेक्स भनेको ‘मन मिलेपछि भैहाल्छ’ भन्ने यी भोजपुरी कमेडियन एक्टर अहिले फिल्म ‘बब्बाल’बाट निकै आशाबादी देखिएका छन् । ‘यो फिल्म भोजपुरी र नेपाली दुवै भाषामा निर्माण भएकोले मैले निकै आशा गरेको छु,’ उनले भने । यो फिल्म नेपाली भर्सनमा जेठ २९ गतेदेखि नेपालका पहाडी ईलाकामा पनि प्रदर्शनमा आउने भएकोले अहिले पहाडी क्षेत्रमा प्रोमोशनमा जुटिरहेको उनले सुनाए । ‘तराईमा त भोजपुरी फिल्महरुको त्यति सार्‍हो प्रोमोशन गरिरहनै पर्दैन,’ उनले भने ।

 



त्यसैमाथि आफु नेपाली भएको र पहिलो पल्ट नेपाली भाषाको फिल्म ‘बब्बाल’मा गायन, अभिनय र संगीत एकैचोटी गरेका कारणले पनि उनले नेपालबाट धेरै आशा राखेको बताए । ‘मलाई नेपाली भन्नुमा गर्व छ र म नेपाली नै भनेर चिनिन चाहन्छु,’ उनले भने–‘त्यसैले पनि नेपालमा यो फिल्मको प्रोमोशनमा जुटिरहेको छु ।’ नेपाली फिल्मबाट अफर आएको खण्डमा नेपाली फिल्ममा पनि अभिनय गर्ने उनले बताए । निरजको मुख्य भुमिका रहेको फिल्म ‘बब्बाल’मा राजन अधिकारी, आशा भुषाल, संगीता यादव र भरत क्षेत्री लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।  सृजना श्रेष्ठ र गीता क्षेत्रीले संयुक्त रुपमा निर्माण गरेको फिल्मलाई समिरकुमार जोशीले निर्देशन गरेका हुन् ।