सुन्धारा स्थित क्यूएफएक्स सेन्ट्रल थिएटरको अन्डरग्राउन्ड पार्किङमा आगलागी हुँदा आज कोलाहाल मच्चिएको छ । साँझ साढे सात बजेको समयमा भएको आगलागीका कारण ठूलो धनजनको क्षति चाहि हुन पाएन तर साँझको शो हेर्न पुगेका दर्शकहरुको सातो भने पूर्णरुपमा उडेको थियो ।
एउटा टाटा जिपमा सर्ट सर्किट भएपछि आगलागी भएको रहेछ र त्यो धुँवा माथि हलसम्म आउँदा कोलाहाल भएको मच्चिएको थियो,' थ्रीडी फिल्म जि आई जोय हेर्न पुगेका जर्नलिष्ट सुब्रत आचार्यले फिल्मीखबरलाई जानकारी दिदै भनेका छन् । आगलागीका कारण ठूलो दुर्घटना नभएपनि मलको लापरबाही प्रष्टरुपमा देखिएको उनी बताउँछन् ।
आचार्यले थिएटरको एमेरन्जेन्सी एक्जिट गेट समेत नखुलेपछि उक्त थिएटरको हकमा पनि सेक्यूरेटी प्रश्न उठाउन बाध्य भएको बताए । जीपमा लागेको आगो दमकल र सिभिल मलका अन्य कर्मचारीहरुले निभाउन सफल भएका थिए । दमकलले आगो नियन्त्रणमा लिनुअघि छैटौँ तल्लामा रहेको थिएटरमा फिल्म हेरिरहेका दर्शकलाई सुरक्षितका साथ बाहिर निकालिएको थियो ।
पार्किङमा आगलागी भएपनि धुँवाले असर गरेर सिभिल मलको तीन वटा इभिनिङ शो क्यान्सिल भएको थिएटरका म्यानेजर सुरेन्द्र थापाले जानकारी गराए । 'धुँवा आएकाले दर्शकलाई असर हुने देखेर हामीले शो क्यान्सिल गरेका हौं तर भोली बिहानबाट भने शो चल्नेछ,' म्यानेजर थापाले भने- 'भाग्यले रहेछ र केहि भएन, बाँचियो ।'

