प्रमोद भण्डारी निर्देशित फिल्म नतिजाको सेन्सर प्रक्रियामा सेन्सर बोर्डले अनावश्यक अबरोध पुर्याएको भन्दै सेन्सर बोर्डको कदम प्रति निर्देशक समाजले आपत्ती जनाएको छ ।
एक प्रेस विज्ञप्ती जारी गर्दै समाजले स्वतन्त्र रुपमा समाजमा घटेका विभिन्न घटनाहरुलाई फिल्मको माध्यमबाट समाजलाई सु–सुचित गराउन पाउनु निर्देशकको अधिकार हो भन्ने मान्ययताको सम्मान गर्दै नतिजालाई अविलम्ब सेन्सर पास गराउने जोडदार माग गरेको हो । अत्यन्त सामान्य दृश्य एवं सम्बादहरुलाई हटाउन सेन्सरले दबाव दिएको भन्दै केही दिन अघि यो फिल्म मिडिया एवं केही फिल्मकर्मीहरुलाई देखाईएको थियो जहाँ फिल्म हेरे पश्चात उपस्थित सवैले सेन्सरको कदम गलत भनेका थिए ।
यसैगरी जारी गरिएको विज्ञप्तीमा समाजका विभिन्न आयामहरुमा दिनानुदिन परिवर्तन भईरहेको स्थितीमा अझै पनि नेपाल सरकारले सेन्सर आचारसंहिता संकिर्ण र समाज सुहाउदो नबनाएकाले अभिलम्ब रुपमा नयाँ सेन्सर आचारसंहिता जारी गर्न र सेन्सर समितिको पुर्नसंरचना गर्न जोडदार माग पनि गरेको छ ।

