Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यो दुई महिना नयाँ अनुहारको बर्चश्व

फिल्मीखबर, काठमाण्डौ, 2013/04/16

गत बर्ष पूराना अनुहारको बाहुल्यता रहेपनि यो बर्ष भने नयाँ अनुहारले फिल्मीबजार तताउने अनुमान लगाईएको छ । बर्ष शुरूवातसँगै बैशाख र जेठ महिनामा रिलिज हुने प्रतिक्षित फिल्म सबैमा नयाँ मेकर देखि नयाँ अनुहारका कलाकारको हाबी छ । नयाँ अनुहारको भिडमा कस्ले बाजि मार्छ त्यो केहि महिनामा नै देखिने छ तर यो दौडमा को-को छन् त ?  हेरौं न त !

 

यहि बैशाख १३ गते रिलिज हुन लागेको साँघुरोले नयाँ अनुहारको ढोका खोल्नेछ । फिल्म कलेजमा अध्ययन गरेर आएका जोएस पाण्डेले निर्देशन गरेको यो फिल्मबाट शुशांक मैनालीले अभिनेताको रूपमा डेब्यू गर्दैछन् । हुनत निर्देशक स्वयंले नै यहि फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । नेपाली समाजमा देखिंदै आएको पारिवारिक यौन कुण्ठाको बिषयलाई मुख्य केन्द्रबिन्दु बनाईएको यो फिल्ममा दीया मास्केले शुशांकलाई साथ दिएकी छिन् ।

 

दयाहाङ राई, अरूणा कार्कीको समेत मुख्य भुमिका रहेको साँघुरोले नेपाली समाजमा घटिरहेको यथार्थ घटनालाई प्रस्तुत गरेकाले दर्शकको मन जित्ने निर्देशकको दाबि छ । आफ्नो फिल्म बनिरहेका नेपाली फिल्म मध्ये उच्च स्थानमा रहने उनले दाबि गरे । विल्कुलै नयाँ कथा बोकेकाले पनि सबैभन्दा पहिला यो फिल्म माथि सबैले नजर राखेका छन् । यसले नै यो नयाँ बर्षमा सफलता या असफलताको बोहनी गर्नेछ ।

 

 

यस्तै यहि बैशाख २० गते रिलिज हुन लागेको फिल्म 'मञ्जरी'बाट पनि दुई नयाँ अनुहार गौरव पहारी र सुजाता कोईरालाको उदय हुँदैछ । यसअघि मालतीको भट्टी निर्देशन गरेका गणेश देव पाण्डेले यि दुईको रोमाञ्चक प्रेमकथालाई बुनेका छन् । गत चैत्र ९ गते रिलिज हुने भनिएको यो फिल्म प्राबिधिक कारणले सरेको हो । अहिले यो फिल्मलाई प्रतिक्षित फिल्मको लिस्टमा पनि राखिएको छ । गीतसंगीत तथा प्रोमो र पोस्टरले पनि यो फिल्मलाई प्रतिक्षित बनाएको हो ।

 

 

मञ्जरी रिलिज भएको ठिक दुई सातामा बिल्कुलै नयाँ अनुहारहरूको भिड रहेको फिल्म 'अन्तराल' रिलिज हुनेछ । पहिलो पटक निर्देशक बनेकी दीपा बस्नेतको यो फिल्ममा अधिकांश अनुहार नयाँ छन् तर थिएटरमा उनीहरूको अनुभव भने लामो छ । कमलमणी नेपाल, राजकुमार पुडासैनी, नम्रता सापकोटा, मानव सुवेदी, अशिष्मा नकर्मी, घनुभाइ जोशी, लोकेन्द्र लेखक, उज्जवल शर्मा भण्डारी, अमितेश शाह, जेशिका बोगटी जस्ता नयाँ अनुहारले यो फिल्मलाई डोर्‍याएका छन् । फिल्म क्षेत्रमा नयाँ आयाम ल्याउने आश गरिएको यो फिल्मले ग्रामिण भेगबाट थुप्रै सपना बोकेर फरक समुदायबाट फरक उद्देश्य बोकी शहर पसेका छ जना युवाहरूको संघर्षको कथालाई मुख्य बिषय बनाएको छ ।

 

 

अन्तराल रिलिज भएको एक सातामा नै 'उमा' फिल्म रिलिज हुनेछ । भलै यो फिल्मका मुख्य प्रोटागनिस्ट नयाँ अनुहार नभएपनि निर्देशक भने फिल्म दर्शकका लागि नयाँ नै हुन् । माओवादी द्धन्दकालमा एक परिवारले भोग्नु परेको पिडामा आधारित रहेर वैचारिक मतभेदका आधारमा विछोडिन पुगेका दुई दाजुबहिनीको सम्बन्ध वरिपरि घुमाएर निर्माण गरिएको फिल्म 'उमा'लाई छिरिङ रितार शेर्पाले निर्देशन गरेका हुन् । यि फिल्ममा ऋचा शर्मा, सौगात मल्ल, दयाहाङ राई, प्रविण खतिवडा, मिथिला शर्मा, अशोक शर्मा, प्रमोद अग्रहरी, पुष्कर गुरुङ, प्रकाश घिमिरे, सुरेश चन्द लगायतको अभिनय रहेको छ ।

 

 

यस्तै जेठ २४ गते रिलिज हुने भनिएको फिल्म 'नेपथ्य'मा पनि अभिनय गर्ने अधिकांश कलाकार नयाँ नै छन् । यो फिल्मबाट आदित्य बुढाथोकी, रेम विक र सोना तिमिल्सिनाले डेब्यू गर्दैछन् । यस्तै फिल्ममा अन्तरालबाट डेब्यू गर्ने मानव सुवेदीको साथमा विल्सन विक्रम राईको पनि मुख्य भुमिका रहेको छ । रत्येक मानिसको कुनै न कुनै सपना हुन्छ र सपना साकार गर्नका लागी मानिसले विभिन्न खालको संघर्ष गर्नुपर्छ भन्ने थिममा आधारित रहेर निर्माण गरिएको लाइट कमेडी 'नेपथ्य'लाई रामराजा दाहालले निर्देशन गरेका हुन् ।

 

 

जेठ महिनाको अन्त्य तिर अर्थात ३१ गते पनि बिभिन्न क्षेत्रमा नाम कमाएका केहि व्यक्तिहरू फिल्म मार्फत नयाँ अनुहारको रूपमा डेब्यू गर्दैछन् । म्युजिक भिडियो तथा विज्ञापनमा राम्रो अनुभव बटुलेका आशिफ शाहले पहिलो पटक निर्देशक गरेको यो फिल्मबाट चर्चित भिजे सुरज सिंह ठकुरीले अभिनेताको रूपमा डेब्यू गर्दैछन् । यस्तै यसअघि आचार्यमा अभिनय गरेका चर्चित गायक सत्यराज आचार्य र भिसा गर्लबाट डेब्यू गरेका अर्का चर्चित आरजे रेमनदाश श्रेष्ठ पनि फिल्मी दर्शकका लागि नयाँ अनुहार नै हुन् । लाईट कमेडी यो फिल्ममा दयाहाङ राईको पनि मुख्य भुमिका रहेको छ ।