ट्रायल शो होस वा अन्य सामान्य कार्यक्रम ती सवै कार्यक्रमका लागि चलचित्र संघले आफ्नो थिएटर फ्रिमा उपलब्ध गराउने निर्णय गरेको छ । संघका महासचिव प्रदीप उदयका अनुसार फिल्मकर्मीहरुका लागि यो बर्ष आफ्नो थिएटर फ्रिमा उपलब्ध गराईने निर्णय गरिएको हो ।
३५ सिट क्षमताको संघको हलमा सेन्सर देखि लिएर फिल्मको ट्रायल शो हेर्नका लागि प्रिभ्यू ब्यवस्था छ । यस्तै हलमा केहि दिन भित्रै जोडिने डिसिएन सर्भरले थप सुविधा दिने उदयको भनाई छ । 'प्रेस मिट होस् या अन्य सामान्य कार्यक्रम, हामी ती कार्यक्रम गरेको कुनै पनि चार्ज लिदैनौं, त्यसमा सामान्य खाजा पनि हाम्रो तर्फबाट उपब्लध हुनेछ,' उदयले भने । तर, यो विशेष ब्यवस्था चाहि एक फिल्मका लागि एक पटक मात्र रहने उदय बताउँछन् ।
'सधैं नै फ्रि गरियो भने राम्रो हुँदैन तर एक पटक सुविधाहरुको जानकारी होस् भनेर यो कार्यक्रम ल्याएका हौं, त्यसमा प्रोड्यूसरलाई पर्ने आर्थिक भार कम हुने त छदैछ,' उदयको तर्क छ । बिशालनगरमा रहेको संघको भवनको दोस्रो तल्लामा सो थिएटर भित्र फाईभ पोईन्ट साउन्ड सिस्टम पनि जडान छ । झण्डै दश लाखको बजेटमा गएको मंसिर महिनामा मर्मत सम्भार पश्चात तयार भएको उक्त थिएटरमा थप सुविधा समेत उपलब्ध गराईने तयारी भईरहेको जानकारी पनि दिएको छ ।

