नयाँ बर्षको आगमनसँगै फिल्म 'नेपथ्य' युनिटले पोस्टर सहित रिलिज डेट घोषणा गरेको छ । ड्रिम वर्क फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्म जेठ २४ गते लाग्ने बताईएको छ । आनन्द महर्जनले तयार पारेको फिल्मको प्रस्तुत पोस्टरमा मुख्य चार पात्र विल्सन विक्रम राई, आदित्य बुढाथोकी, मानव सुवेदी र रेम विकलाई हाईलाईट गरिएको छ ।
प्रत्येक मानिसको कुनै न कुनै सपना हुन्छ र सपना साकार गर्नका लागी मानिसले विभिन्न खालको संघर्ष गर्नुपर्छ भन्ने थिममा आधारित रहेर निर्माण गरिएको फिल्म नेपथ्यलाई रामराजा दाहालले निर्देशन गरेका हुन् । यसअघि मुलधारका फिल्महरु बनाउँदै आएका निर्देशक दाहालले यसपाली नयाँ अनुहारलाई लिएर फिल्म बनाएका छन् । निर्देशक दाहालले यो फिल्मलाई आफ्नो करियरसंग जोडिएको फिल्म भनेका छन् ।
नायिकाको रुपमा सोना तिमिल्सिनाले अभिनय गरेको यो फिल्ममा शुष्मा कार्कीलाई आईटम गर्लको रूपमा देख्न सकिनेछ । त्यसैगरि विशेष भुमिकामा नायिका प्रियंका कार्की, सुनिल थापा र सुवास कोईराला पनि छन् । सुवाससिंह बस्न्यातको लेखन रहेको फिल्ममा संगीत मानव सुवेदीले दिएका छन् भने छायाँकन सुसन प्रजापतिले गरेका हुन् । बाबु बलामीको एक्सन रहेको फिल्ममा गम्भिर बिष्टले कोरियोग्राफि गरेका छन् सम्पादन रोशन लामिछानेले गरेका छन् ।


