Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

मल्टिट्यालेन्टेड मानव

रेम बिक, पोखरा, 2013/04/13

नेपाली फिल्ममा अनुहार देखाउन चाहने जमात यो नगरीमा धेरै बाक्लो छ । त्यसैले त निर्माता निर्देशकहरुलाई ‘मुर्गा’ फँसाउन सजिलो भैरहेको छ । पैसा हालेरै भएपनि फिल्ममा खेल्ने तीव्र चाहना बोकेर कलिउड नगरी छिर्नेहरु फिल्म त खेल्लान् तर लामो रेसको घोडा भने बन्न सकेका छैनन् । तर यहि उद्योगमा कोहि यस्ता पनि छन् जो केहि गर्छु भनेर छिरेका छन् । यस्तै एउटा अनुहार हुन्, मानव सुवेदी ।

मानवले अभिनय पहिलो फिल्म हो ‘अन्तराल’ । अन्तराल जेठ ३ गतेदेखि प्रदर्शनमा आउने तरखरमा छ । त्यसपछि रामराजा दाहाल निर्देशित फिल्म ‘नेपथ्य’ आउँदैछ । अहिले यी दुवै फिल्मको प्रोमोशनमा जुटिरहेका मानवलाई अहिले रातमा निद्रा राम्रोसंग पर्दैन । भन्छन्–‘एकदमै एक्साईटेड र डराएको महशुस गरिरहेको छु ।’ भविष्य नै यहि फिल्म उद्योगमा देखेका कारण आफ्नो पहिलो कामलाई दर्शकले कसरी लिने हुन् भन्ने विषयमा निकै खुल्दुली भैरहेको उनले सुनाए ।  

पुर्वको झापा घर भएका यी नवनायक फिल्म कलेजका उत्पादन हुन् । उनले भर्खरै मात्र अभिनयमा ब्याचलर्स सके । अभिनय सम्बन्धि प्रशिक्षण लिन कहिल्यै पछि नपर्ने मानवका अनुसार जीवनको प्रत्येक भोगाईले नै अभिनय सिकाउँछ । सामाजिक संजालहरुमा भर्खरै राखिएको ‘अन्तराल’ फिल्मको प्रोमोमा पनि सोझो भुमिका देखिएका मानव अहिले फिल्मकर्मीहरुको आँखामा परिसकेका छन् ।

 

 


मानवको परिचय एउटा ‘अभिनय गर्ने कलाकार’ले मात्रै पुग्दैन । उनी मल्टिट्यालेन्टेड छन् । उनले राम्रो संगीत पनि भर्छन् भने गीत पनि आफै गाउँछन् । उनले खेलेको दुई वटै फिल्ममा उनले संगीतसंगै स्वर पनि दिएका छन् । ‘मलाई अभिनयले जति तान्छ, त्यति गीतसंगीतले पनि,' उनी भन्छन्–‘मैले न अभिनयलाई माया मार्न सक्छु न संगीतलाई ।’ मानवले अभिनय र संगीतलाई संगसंगै लैजाने योजना बनाएका छन् । भन्छन्–‘शायद फरक दुईवटा क्षेत्र भएको भए मलाई म्यानेज गर्न गार्‍हो हुन्थ्यो होला, तर एउटै क्षेत्र भएकोले मैले म्यानेज गर्न सक्छु ।’

हाल सिंगल रहेका मानव करिअर मजबुत बनाएर मात्रै विहे गर्ने बताउँछन् । भर्खरै फिल्मी क्षेत्रमा पाईला चलाईरहेका मानव भन्छन्–‘भर्खरै त यो क्षेत्रमा आएको छु, करिअर बनेपछि मात्रै विहेको बारेमा सोँचौला ।’ नेपाली फिल्म उद्योगलाई माथि उठाउन सकेमात्र कलाकारको रुपमा बाँच्न सकिने बताउने यी कलाकारले उद्योगलाई उँभो लगाउनका लागी आफुले एउटा गतिलो ईट्टा हुने संकल्प गरेको बताउँछन् ।