फिल्मकर्मीको आन्दोलनमा सक्रिय भएर लाग्दा निर्देशक एमएस अग्रजले आफ्नो फिल्म 'दब्दबा'लाई समयमा रिलिज गर्न नसक्दा अनिश्चितकालिन रोक लगाएका थिए । अब भने उनले यस फिल्मलाई जेठ १७ गते रिलिज गर्ने बताए ।
'बिबिध कारणले गर्दा फिल्म रिलिज गर्न सकेका थिएनौं तर अब रिलिज गर्छौं,' निर्देशक अग्रजले भने- 'जेठ १७ गते चर्चित गायिका कोमल ओलीको बुलन्द अभिनयलाई दर्शकले हेर्न पाउनेछन् ।' संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी गायिका ओलीले उक्त मितिमा धुम मच्चाउने निर्देशक अग्रजको दाबि छ । फिल्ममा गायिका ओलीलाई दर्शकले घुमन्ते भट्टीवालीको भूमिकामा हट एण्ड स्पाईसीको रूपमा पाउने निर्देशकको भनाई छ ।
कलर मुभिको ब्यानरमा निर्मित उक्त फिल्म साईको क्राईम थ्रिलरमा आधारित भनिएको छ जहाँ कानुन विरुद्धका आवाजहरु पनि उठाईएका छन् । फिल्ममा कोमलका अलावा विशाल पोखरेल, आर्जु अधिकारी, सुवास चन्द्र कार्की, विरश बाबु शाही, विरेश प्रसाद दाहाल तथा गणेश उप्रेतीको अभिनय हेर्न सकिनेछ । फिल्मलाई रत्नप्रसाद श्रेष्ठले निर्माण गरेका हुन् ।

