भोली शुक्रबारबाट दुई फिल्म 'हमेशा' र 'नोटबुक' भिडन्तका लागि मैदानमा उत्रदै छन् । बर्ष ०६९को अन्त्यमा हुन लागेको यो भिडन्तमा फिल्मकर्मी र सञ्चारकर्मी दर्शक बन्ने छन् ।
'हमेशा' र 'नोटबुक' भिडन्तका खेलाडीहरू सबै आ-आफ्नै स्थानमा सक्षम छन् जसले गर्दा यो बर्षकै रोमाञ्चकारी भिडन्त चैत्र ३० गतेलाई लिईएको छ । यो भिडन्तमा हमेशाका क्याटेन सबिर श्रेष्ठ हुन् भने नोटबुकका क्याप्टेन योगेश घिमिरे हुन् । यस्तै हमेशा टिमका स्ट्राईकर रेखा थापा हुन् भने नोटबुकका जीवन लुईटेल हुन् । यस्तै फरवार्ड खेलाडीको रूपमा हमेशाका तर्फबाट सबिन श्रेष्ठ र नरेन खड्का मैदानमा उत्रदैछन् भने नोटबुकको टिममा नीता ढुंगाना र शेन सापकोटाले हमेशालाई चुनौती दिनेछन् ।
बिपक्षीलाई गोल हान्नबाट बचाउन निर्माताद्धय छबिराज ओझा र प्रज्ञा जोशीले क्रमश: हमेशा र नोटबुकको तर्फबाट गोलकिपरको भुमिका निर्वाह गर्नेछन् । रंगशाला देशभरका हलहरू बन्नेछन् । दर्शकहरूले नै यो गेममा रेफ्रीको भुमिका निर्वाह गर्नेछन्, जस्ले फल खेल्छ त्यसलाई दर्शकले पक्कै आउट गर्नेछन् । जस्ले राम्रो खेल्छ उसको जीत निश्चित छ ।
छबि ओझा २५ बर्षदेखि गेम खेल्दै आएका अनुभवी खेलाडी हुन् भने प्रज्ञा जोशी पनि अनुभवका हिसाबले कम छैनन् । प्रज्ञाले यसअघि सपूत, सम्झना, न बिर्सें तिमीलाई नपाएँ तिमीलाई जस्ता फिल्मबाट बेहोरेको हारको बदला हमेशासँग लिने तयारी गरेकी छिन् । यो खेलमा गोल कस्ले धेरै हान्ला त ? तपाईं पूर्वानुमान लगाउँदै गर्नुस् !

