दर्शकसँगको प्रत्यक्ष भेटघाटले फिल्मको प्रचारप्रसारलाई राम्रो सहयोग पुर्याउने देखेर होला यहि चैत्र ३० गते रिलिज हुन लागेको फिल्म 'नोटबुक'का हिरो जीवन लुईटेल बुधबार मध्यान्न गोपीकृष्ण हल परिसरमा भेटिए । उक्त हलमा फिल्म हेर्न आएका दर्शकलाई जीवनले आफ्नो हस्ताक्षर भएको नोटबुक बाँडे र भने- 'यो नोटबुकमा फिल्म हेरेर आफूलाई लागेको राम्रो नराम्रो कमेन्ट लेख्नुहोला ।'
जीवनले दर्शकहरूलाई नोटबुक उपहार दिईरहेका बेला भिडमा एउटी सुन्दर युवतीको हात पनि अगाडी बढ्यो । 'हजुरको मायाको चिनो मलाई पनि भन्ने,' भिड छिचोल्दै नायिका नीता ढुंगाना जीवनको सामु उभिईन् । जीवन पनि के कम ? 'लभ यू' सहितको आफ्नो हस्ताक्षर भएको नोटबुक उनले नीतालाई दिए । नीता लजाईनन् मात्र उनको गाला रातै भएर आयो । दर्शक पनि कमका त छैनन् अनि एउटै आवाजमा भने- 'गाला रातै गाला रातै गाला रातै यो कान्छिको गाला रातै ।' दर्शकको आवाजमा जीवन र नीताले पनि साथ दिए ।
फिल्ममा आफूले निर्वाह गरेको भुमिकाको बारेमा नीता र जीवनले दर्शकसामु खोल्न चाहेनन् । नीताले भनिन्- 'अहिलेनै मैले आफ्नो भुमिका भने दर्शकले हलमा के हेर्न जाने ? यस्तै जीवनले पनि नोटबुक पातलो नभई निकै मोटो र आकर्षक भएकाले दर्शकलाई ३० गते नै पल्टाउन आग्रह गरे । यता निर्देशक योगेश घिमिरेले यो नोटबुक बाड्ने काम पब्लिसिटीका लागि भन्दा पनि दर्शकसँग प्रत्यक्ष भेटेर फिल्मको बारेमा जानकारी दिन आयोजना गरिएको कार्यक्रम रहेको बताए ।





