फिल्म चल्नको लागि कथाबस्तु, प्रस्तुती र स्टार भ्यालुको जति महत्व हुन्छ गीतसंगीतको पनि उत्तिकै भ्यालु हुन्छ । अझ दर्शकलाई आकर्षित गर्ने भनेको नै गीत हो । यस बर्ष जति फिल्म चले ति फिल्मका गीत नै हिट भएका छन् ।
बर्षको शुरूवातमा निर्मातालाई केहि खुसी बनाएको फिल्म सायदको गीत ठिकै चल्यो । त्यसपछि लगानी रिकभर गरेको अर्को फिल्म किन लाग्छ मायाको लक्ष्मण शेषको संगीतमा प्रमोद खरेलले गाएको 'यो मन ढुंगा भए...' बोलको गीत त्यो बेला निकै हिटलिस्टमा पर्यो । किन लाग्छ माया पछि यो बर्ष चलेको अर्को फिल्म मालतीको भट्टी हो जसको गीतलाई पनि दर्शक स्रोताले निकै रूचाएको पाईयो । यसै फिल्मबाट संगीतकारको रूपमा डेब्यू गरेका कालिप्रसाद बाँस्कोटा अहिले फिल्मकै काममा व्यस्त छन् ।
बिन्दास पनि यो बर्ष निर्मातालाई खुसी बनाएको फिल्मको लिस्टमा पर्छ जसको गीत पनि निकै चर्चित बन्यो । अर्जुन पोखरेलको संगीतमा शिव परियारले गाएको 'बाटो मोडेर गयौ...' बोलको गीत अहिले पनि संचारमाध्यमा बजिरहन्छ । यो फिल्मको 'रिमझिम रिमझिम पानी...' बोलको गीतले पनि राम्रै चर्चा पाएको हो । संगीतकार अर्जुन राम्रो संगीत दिने सर्जकको रूपमा चिनिन्छन् ।
यस्तै मायाज बार फिल्मको गीत पनि यो बर्षको चर्चित गीतको लिस्टमा पर्छ । लगानी अत्याधिक भएका कारण निर्माताले लगानी सुरक्षित गर्न नसके पनि गीतसंगीत सर्जकहरूलाई यो फिल्मले राम्रै फाईदा पुर्यायो । संगीतकार सुरेश अधिकारीको सुमधुर संगीतमा तयार भएको 'माया यो माया...' बोलको गीतबाट आस्था राउत र 'सर सर...' बोलको गीतबाट दुर्गा परियारलाई राम्रैसँग फाईदा पुग्यो भने दिनेश डिसीको स्वरको पनि धेरैले खुलेर प्रशंशा गरे ।
यि बाहेक रिलिज भएका फिल्म के म तिम्रो साथी बन्न सक्छुको 'तिमीसँगै बिउँझु सधैं...', मेरो जीवन साथीको 'तिमीसँग रिसाएर...' तथा थ्री लभर्सको 'सुन्तली माई...' बोलको गीत पनि रूचाईएको थियो तर फिल्म सोचे अनुरूपले भने चल्न सकेनन् । यो बर्ष सबैभन्दा बढि हलमा टिक्न सफल भएको फिल्म हो 'रिदम' । यो फिल्म मात्र हैन गीत पनि यो बर्षकै सबैभन्दा बढि रूचाईएको गीतमा पर्छ । अधिकांश एफएम स्टेशनले यो फिल्मको 'पागल म बन्न सक्छु..' बोलको गीत स्रोताबाट अत्याधिक फर्माईसमा परेको बताएका छन् भने सिआरबिटीमा पनि सबैभन्दा बढि डाउनलोड भएको गीतको लिस्टमा छ ।
यसैबर्षको अन्त्यमा अर्थात चैत्र ३० गते रिलिज हुन लागेको फिल्म नोटबुकको 'गाला रातै..' र 'मायाको भुलभुलैया...' बोलको गीत पनि चर्चामा छ । अब गीत चलेपनि फिल्म चल्छ या चल्दैन भन्ने कुरा चलेपछि नै थाहा हुनेछ । तर रिदम र नोटबुकबाट संगीतकार बसन्त सापकोटा यस बर्षको उत्कृष्ट संगीतकारको रूपमा पर्छन् भन्ने कुरामा दुईमत नहुन सक्छ ।
जे होस् फिल्मको गीतले व्यवसायमा राम्रो असर पार्छ भन्ने उदाहरण बिगतका झैं यस बर्ष पनि देखिएको छ । आउँदो बर्ष गीतले व्यवसायलाई कस्तो असर पार्छ हेर्न बाँकी छ ।

