रक्सी जति पुरानो भयो त्यति नै स्वादिलो र मात लाग्ने हुन्छ । यहि मान्यतालाई आत्मसाथ गर्दै विगत लामो समयदेखि सञ्चारमाध्यममा सक्रिय रंगपत्रकार प्रकाश सुवेदीले नयाँ बोतलमा पुरानो रक्सी हालेर बेच्ने जमर्को गर्दैछन् ।
'विस्थापितलाई स्थापित गर्ने मेरो उद्देश्य हो,' प्रकाशले फिल्म निर्देशन गर्न लागेको रहस्य खोल्दै फिल्मीखबर सामु भने- 'विस्तारै विस्थापित हुन लागेका स्टारहरूलाई पुन: स्थापित गराउने जमर्कोका साथ म निर्देशनमा आउन लागेको हुँ ।' नाम जुरी नसकेको अनटाईटल प्रोजेक्टमा प्रकाशले बिराज भट्ट सहित दुई नायिका रेखा थापा र झरना थापालाई आफ्नो फिल्मको मुख्य पात्र बनाउने बताए ।
'मेरो फिल्ममा अभिनय गर्ने कलाकार देखि अन्य प्राबिधिक सबै पुरानै हुनेछन्, 'प्रकाशले थपे- 'अहिले पनि पुरानै रक्सी बिक्छ त्यसैले नयाँ बोतलमा मैले पुरानो रक्सी हाल्ने तयारी गरेको हुँ ।' पुराना स्टारलाई विस्थापित गर्न खोज्ने स्थापित हुन नसकेको अवस्था रहेको भन्दै प्रकाशले पुरानासँग काम गरेर नयाँ स्टाईलको फिल्म बनाउने दाबी गरे । सञ्चार जगतमा लामो अनुभव र हर्के हल्दार नामक टेलिफिल्मको अनुभवबाट निर्देशनमा हात हाल्न लागेको प्रकाश बताउँछन् ।

हाल कान्तिपुर टेलिभिजनमा फिल्मी कार्यक्रम 'रजतपट' चलाउँदै आएका प्रकाशले आफ्नो फिल्मको कथा लेखनको जिम्मा सम्भवत सुरज सुब्बा 'नाल्बो'लाई दिने बताए । 'मैले सुरजजीसँग धेरै अगाडी नै एग्रिमेन्ट गरेको थिएँ त्यसैले पहिलो प्राथमिकता उहाँलाई नै दिन्छु,' प्रकाशले भने । यस्तै फिल्मको संगीत शम्भुजित बाँस्कोटा, द्धन्दनिर्देशन राजेन्द्र खड्गी तथा करियोग्राफीको जिम्मा बसन्त श्रेष्ठलाई दिने उनले जानकारी गराए ।
नयाँ बर्षको आगमनसँगै बैशाखमा फिल्म निर्माणको औपचारिक घोषणा गरेर भाद्र महिनामा सुटिङ गर्ने उनको योजना छ । यस्तै प्रकाशले युवा नेता गगन थापालाई पनि फिल्ममा विशेष भुमिकामा प्रस्तुत गर्ने बताए । प्रकाशले निर्देशन गर्ने फिल्मको कथा हिरोईन केन्द्रित हुनेछ ।

