रिलिज भएको एक सातामा फिल्म प्याकअप भईरहेको अवस्थामा गत फाल्गुन २५ गते रिलिज भएको फिल्म रिदम भने सफलताका साथ पाँचौ सातामा प्रवेश गरेको छ । राजधानीका तीन मुख्य हल अष्टनारायण, गोपी र गुण सहित पोखराको बाराही हलमा यो फिल्म आजबाट पाँचौ सातामा प्रवेश गरेको हो ।
'यहि अनुपातमा गयो भने ५१ दिन मनाउन बेर छैन,' निर्देशक विकास आचार्यले भने- 'यो मेरो मात्र सफलता नभएर सम्पूर्ण फिल्मकर्मीको सफलता हो ।' यता निर्माता प्रदीप दाहालले नयाँ रिलिज भईरहेका फिल्मको तुलनामा रिदमको व्यापार राम्रो भएको दाबी गरे । 'कति हलमा त रिदमको कलेक्सन नयाँ रिलिज फिल्मको भन्दा बढि छ,' दाहालले भने । यस्तै राजधानी बाहिर केहि हलमा रिदम दोस्रो सातामा रिलिज भईरहेको र रिलिज हुन बाँकी हलमा नयाँ बर्षको अवसरमा दर्शकसामु आउने प्रदीपको भनाई छ ।
मानिसको जीवनमा आउने उतारचढावका समसामायिक घटनाक्रमलाई आधार मानेर देशको माया र नेपाली हुनुको गौरवलाई देखाउन रिदम मार्फत निर्देशक आचार्यले देखाउन खोजेका छन् । 'राम्रो कथाबस्तुमा फिल्म बनायो भने चल्ने रहेछ,' निर्देशकले भने- 'अब निर्माण हुने फिल्म पनि यस्तै दर्शकको मन नजिक पुग्ने खालकै हुनेछ ।' जेठ महिनाको दोस्रो साताबाट नयाँ फिल्मको काम शुरू हुने बताउँदै अहिले स्क्रिप्ट फाईनल गर्न व्यस्त रहेको निर्देशक आचार्यले बताए ।
जीवन लुईटेल, स्वेता भट्टराई, विल्सन विक्रम राई, निर शाह, बालकलाकार अनुभव रेग्मीको साथमा नवप्रस्तुतीको रूपमा निष्मा घिमिरे र सोहित मानन्धरको मुख्य अभिनय रहेको यो फिल्ममा बसन्त सापकोटाको संगीत रहेको छ । फिल्मका गीत यो बर्षको हिट लिस्टमा पर्छ ।

