नेपाली नयाँ वर्ष नजिकिरहेको छ । नयाँ वर्ष सेलिब्रेट गर्नका लागी अहिले धेरैजसोले विभिन्न खाले प्लान बनाईसकेका छन् । यो कुराबाट नेपाली फिल्म उद्योग पनि कहाँ अछुतो रहन सक्थ्यो र ? यसैबिचमा नेपाली फिल्म ‘नेपथ्य’ले नयाँ वर्षमा नेपालीहरुलाई केहि नयाँ खालको उपहार दिने योजना बनाएको छ । देश विदेशमा भएका सम्पुर्ण नेपालीहरुले नेपथ्यको उपहार पाउने निर्माणपक्षले जनाएको छ ।
के हो त त्यस्तो उपहार ? ‘यो कुरालाई अहिले गोप्य नै राखौँ,' फिल्मका निर्देशक रामराजा दाहालले भने–‘कसैलाई दिने भनेर राखिएको उपहार गोप्य राखेकै मज्जा हुन्छ ।’ नयाँ वर्षमा दिईने उपहार हरेक नेपालीहरुलाई मन पर्ने खालको हुने उनले बताए । उपहार के हो ? भन्ने कुरा थाहा पाउनका लागी नेपाली जनताले बैशाख १ गतेसम्म कुर्नैपर्ने उनले बताए ।
रामराजा दाहाल निर्देशित नेपाली फिल्म ‘नेपथ्य’मा अहिले धमाधम आवाज भर्ने काम भैरहेको छ । आवाज भर्नकै लागी अहिले दिनहुँजसो फिल्मका कलाकारहरुसंग निर्देशक दाहाल अनामनगरस्थित कालिगण्डकी रेकर्डिङ स्टुडियोमा भेटिन्छन् । ‘फिल्मका मुख्य पात्रहरुको डबिङ सकिनै लागेको छ,’ निर्देशक दाहालले भने–‘केहि दिनमा फिल्मका दृश्यहरुमा आवाज भर्ने काम लगभग पुरा हुन्छ होला ।’
सपनाहरुको कथा भनिएको फिल्म नेपथ्य केहि महिनाभित्रै प्रदर्शनमा आउने उनले जानकारी दिएका छन् । फिल्मबाट उनले निकै आश समेत गरेका छन् । फिल्मलाई दर्शकहरुले पनि निकै आशा गरेर पर्खिरहेको उनले दाबी गरे । फिल्ममा आदित्य बुढाथोकी, रेम बिक, विल्शनविक्रम राई, मानव सुवेदी र सोना तिमिल्सिनाको मुख्य भुमिका रहेको छ । फिल्मलाई सुशन प्रजापतिले खिचेका हुन् ।

