Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 5.00/5.00)
Text size:-
+
-

छड्केबाट भड्केको दर्शक कर्कशले तान्ला ?

रेम बिक, पोखरा, 2013/04/05

प्रोमो र पोस्टरबाट राम्रै चर्चा पाएपनि अन्तमा फिल्म प्रर्दशनमा आईसकेपछि दर्शकको गाली मात्र पाएको फिल्म छड्केलाई धेरैले भुलेका छैनन् । आश गरेको फिल्मले निराश बनाएपछि भुलुन् पनि कसरी ?

 

ईनिसियल व्यापार राम्रो गरेपनि छड्केको कलेक्सन पछिल्लो दिनहरुमा आएर नराम्ररी बिग्रेको रिपोर्टहरु आएका थिए । त्यसयता हलमा आएका रिदम बाहेक कुनै पनि फिल्मले व्यापारको हिसाबले कुनै हलचल मच्चाउन सकेका छैनन् । अहिले त धेरै फिल्मकर्मीहरु भन्छन्- ‘छड्केले नेपाली दर्शकलाई भड्कायो, त्यसैले नेपाली फिल्मप्रति नेपाली दर्शकहरुको झुकाव बढ्न सकेन ।’ अहिले फेरी एउटा अर्को फिल्मले पोस्टर र प्रोमो फालेको छ । पोस्टर र प्रोमो सार्वजनिक गरेको केहि दिनमै यो फिल्मको चर्चा फिल्म वृत्तमा चुलिन थालेको छ । फिल्म हो 'कर्कश' ।



फिल्म कर्कश विशेष गरि कान्तिपुर टेलिभिजनका कार्यक्रम संयोजक सुरजसिंह ठकुरीका कारण पनि चर्चामा छ । त्यसैमाथि गायक सत्यराज आचार्य, आरजे रेमनदास श्रेष्ठ र गोफ्ले अर्थात दयाहाङ राई पनि यो फिल्ममा अभिनय गरेका कारण यसले टिनएजर्सहरुमा अझै बढि प्रभाव जमाउँदै गएको छ । त्यसैमाथि गायन र म्युजिक भिडियो निर्देशनबाट आफुलाई चिनाईसकेका आसिफ शाहले पहिलो पटक निर्देशन गरेको फिल्म भएका कारण पनि यो फिल्मलाई नेपाली दर्शकहरुले अवेईटेडको लिस्टमा राखेका छन् ।



सामान्यतया फिल्म चल्नुभन्दा अगाडी नै हिट हुनुले रिजल्ट राम्रो निकाल्दैन भन्ने उदाहरण छड्केले राम्रैसित देखाईसकेको छ । यद्यपी केहि आश गर्न सक्ने कुराहरुले गर्दा कर्कशलाई मानिसहरुले कुरेर बस्ने निश्चित छ । ‘कर्कशको प्रोमो राम्रो भएको भन्ने कुराहरु मैले पनि ठाउँ-ठाउँबाट प्रतिक्रिया पाईराखेको छु,' फिल्मका निर्देशक आसिफ शाह भन्छन्–‘फिल्म पनि निकै राम्रो बनेको छ ।’ प्रोमो भन्दा फिल्म तुलनात्मक रुपमा दश गुणाले राम्रो बनेको निर्देशक शाहले दाबी गरे ।



प्रोमो सार्वजनिक समारोहमा पनि यस फिल्मका कलाकारहरुले फिल्ममा धेरै मेहेनत गरेको र साँच्चैको राम्रो नेपाली फिल्म बनेको बताएका थिए । यद्यपी प्रोमो सार्वजनिक भएको केहि दिनमै यो फिल्मलाई धेरैले हिन्दी फिल्म ‘रक अन’को नेपाली भर्सन त होईन ? भनेर चासो देखाएका छन् । यद्यपी निर्माण पक्षले भने यो फिल्म विशुद्ध नेपाली परिवेशको कथा भएको र कतैबाट पनि प्रभावित नभएको भनेर दाबी गर्दै आएको छ । साँगीतिक कथामा बनेको यो फिल्ममा चार छुट्टाछुट्टै चरित्रका मानिसहरुलाई समावेश गरिएको छ । फिल्मलाई सिनेम्याटोग्राफर सुशन प्रजापतिले खिचेका हुन् । जेठ ३१ गते प्रदर्शन गर्ने तयारीका साथ यतिबेला फिल्मको निर्माणपक्ष प्रोमोशनमा जुटिरहेको छ ।



कर्कश टिमले छड्केले सुताएको नेपाली फिल्मको व्यापारलाई उठाउने कुरा पनि अगाडी ल्याएको छ । छड्केले भड्काएको नेपाली फिल्मको दर्शकलाई थम्थमाएर पुन: नेपाली फिल्महरुको व्यापार बढाउने ध्याउन्नमा कर्कश टिम लागेको छ । जी ट्वान्टी वान प्रोडक्शनको ब्यानरमा बनेको यो फिल्मले छड्केले भड्काएको दर्शकलाई हलसम्म फिर्ता ल्याउन सक्ने हो कि होईन ? त्यो भने प्रदर्शन पछिको दिनले अवश्य देखाउँछ ।